PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अवैध रुपमा लुकाएको कपडाबारे अनुसन्धान गर्न प्रहरी घरमा पुगेपछि सप्तरीमा झडप : भीड नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर



पहिलोपोस्ट

अवैध रुपमा लुकाएको कपडाबारे अनुसन्धान गर्न प्रहरी घरमा पुगेपछि सप्तरीमा झडप : भीड नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर
फाइल फोटो

काठमाडौं : सप्तरीमा प्रहरी र ‘तस्कर समूह’बिच झडप भएको छ। आज दिउँसो बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित बेल्हीमा झडप भएको हो।

स्थिति तनावग्रस्थ भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधव काफ्लेका अनुसार बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही बस्ने घुरन साहको घरमा अवैध रुपमा कपडा लुकाई छिपाई राखेको सूचनाको आधारमा भन्सार कार्यालय राजबिराज तिलाठीको प्रतिनिधि सहित टोली घरमा पुगेको थियो।

तर, घर खानतलासी गर्दा अन्दाजी २५०/३०० जनाको संख्यामा स्थानीयबासी भेला भएर प्रहरीमाथि हुलहुजत तथा ढुंगामुडा गरी साहको घरभित्र रहेको अवैध कपडाहरु बोकी लुकाउन खोज्दा प्रहरीबाट प्रतिकार भएको डीएसपी काफ्लेले बताए। प्रहरीले प्रतिकार स्वरुप ३०३ राईफलबाट २ राउण्ड र सर्ट गनबाट १ सेल हवाई फायर गरी भिडलाई नियन्त्रणमा लिएको थियो।

घटनामा तीन जना प्रहरी घाइते समेत भएका छन्। घुरन साहको घरबाट अवैध रुपमा बरामद भएको लत्ताकपडाहरु कार्यालयमा ल्याई आवश्यक कारबाहीको लागि भंसार कार्यालय पठाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell