PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गौतम अदाणीले एनडिटिभीको सेयर किनेपछि भारतमा हलचल, टिभीले साख जोगाउँला कि बन्ला 'गोदी मिडिया'?



पहिलोपोस्ट

गौतम अदाणीले एनडिटिभीको सेयर किनेपछि भारतमा हलचल, टिभीले साख जोगाउँला कि बन्ला 'गोदी मिडिया'?
Photo : Hindustan Times

एसियाका धनी व्यक्ति गौतम अदाणीको अदाणी ग्रुपले भारतीय मिडिया कम्पनी एनडिटिभीमा अप्रत्यक्ष रुपमा २९.१८ प्रतिशत सेयर किनेको छ। अदाणी समूहले एनिटिभीको थप २५ प्रतिशत सेयर किन्न ‘ओपन अफर’ पनि दिने योजना बनाएको बम्बे स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जलाई जानकारी दिएको छ।

अदाणी इन्टरप्राइजेजको सब्सिडियरी एएमजी मिडिया नेटवर्क्स लिमिटेडले विश्वप्रधान कमर्शियल प्राइभेट लिमिटेड (वीसीपीएल)को शत प्रतशित सेयर किनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यस कम्पनीको सेयर अदाणी समूहले ११४ करोड रुपैयाँमा खरिद गरेको हो। वीसीपीएलसँग एडिटिभीको एक प्रमोटर समूह कम्पनी ‘आरआरपीर होल्डिङ्ग्स प्राइभेट लिमिटेड’सँग २९.१८ इक्विटी सेयर थियो। सो कम्पानीको सबै सेयर खरिद गरेपछि एनडिटिभीको सेयर अदाणी समूहको नाममा आएको हो।

एनडिटिभमा प्रमोटर्स प्रणय रायको नाममा कम्पनीको १५.९४ हिस्सा छ। उनकी श्रीमती राधिका रायको नाममा कम्पनीको १६.३२ प्रतिशत सेयर छ। आरआरपीआरको प्रमोटर्स नै प्रणय र राधिका थिए। जससँग एनडिटिभीको २९.१८ प्रतिशत सेयर थियो।

अब एडिटिभीको थप सेयर खरिद गर्दा तीन कम्पनीसँग मिलेर अदाणी समूहले ‘ओपन अफर’ ल्याउने तयारी गरेको छ। हाल स्टक मार्केटमा भन्दा २० प्रतिशत कम मूल्य (२९४ भारतीय रुपैयाँ)मा सेयर खरिदका लागि प्रस्ताव गरिने जनाइएको छ। मंगलवार एनडिटिभीको सेयर ३६६ भारतीय रुपैयाँमा बन्द भएको थियो। अदाणी समूहले एनडिटिभीमा थप २६ प्रतिशत सेयर किन्न ४९३ करोड रुपैयाँ खर्च गर्नेछ।

यद्यपि, एडिटिभीले भने वीसीपीएलले सेयर खरिद बिक्रीबारे आफूहरुलाई जानकारी नदिएको एक्सचेन्जलाई जनाएको छ। ऋणलाई एक्विटीमा परिवर्तन गर्न वीसीपीएलले आफूहरुसँग सल्लाह नगरेको एनडिटिभीले जनाएको छ। एनडिटिभीले संस्थापकहरुको सेयर हिस्सामा कुनै परिवर्तन नभएको जानकारी मंगलवार नै एक्सचेन्जलाई दिएको थियो। एनडिटिभीको प्रमोटर्सहरुले आरआरपीआरबाट आफ्नो हिस्साको सट्टा सन् २००९ मा ऋण लिएको थियो। सो ऋण १० वर्षका लागि थियो, जसको अवधि २०१९ सम्म थियो।

एनडिटिभीलाई थाहै नदिइ सेयर किनेको सार्वजनिक भएपछि प्रश्न पनि उठ्न थालेको छ। भारतका पत्रकार प्रणय प्रसुन बाजपायेले व्यङ्गय गर्दै तपाईंलाई नसोधी कसैले तपाईंलाई खरिद गर्न सक्छ भनेर उल्लेख गरेका छन्। प्रसुनलाई मोदी सरकारको समर्थन नगरेकै कारण जागिरबाट निकालिएको थियो।

एग्रो ट्रेडिङ र पार्टसहरुको व्यवसायबाट कारोबार सरु गरेको अदाणी समूह अहिले एसियामा सबैभन्दा बढी सम्पत्ति भएको समूह हो। पछिल्लो समय अदाणी समूहले आफ्नो कारोबारलाई तीब्र गतिमा विस्तार गर्दै एयरपोर्ट, डेटा सेन्टर, सिमेन्ट, बिजुली, कोइला, ग्याय, खाद्य तेल लगायतका सामाग्रीको कारोवार वृद्धि गरेको थियो।

अदाणी समूह पछिल्लो समय भारतमा मिडिया टेकओभरका लागि पनि अग्रसर देखिएको छ। यही वर्षको मार्चमा अदाणीले डिजिटल बिजेन्स न्यूज प्लेटफर्म क्विटिलियन बिजनेस मिडियामा ४९ प्रतिशत सेयर खरिद गरेको थियो। गत वर्ष नै अदाणीले एनडिटिभी किन्न हल्ला चलेको थियो, जसले एनडिटिभीको सेयरको मूल्य बढेको थियो।

भारतमा नरेन्द्र मोदी सरकार आएपछि मिडियाहरु ‘मोदी भक्त’ भएको आरोप लाग्दै आएको छ। यस्तो बिच राविश कुमारले एनडिटिभीलाई सो ‘ट्याग’ लाग्नबाट जोगाउँदै आएका थिए। 'गोदी मिडिया' भन्ने ट्याग राविशले नै अन्य मिडियालाई दिएका थिए। मोदी सरकारको आलोचना गर्दै एनडिटिभीले भारतको मिडिया क्षेत्रमा छुट्टै स्थान बनाएको थियो। हालको सेयर खरिद प्रकरणले के एनडिटिभीको साख कायमै रहला कि ‘गोदी मिडिया’ बन्ने दिशातर्फ अग्रसर होला। अहिले भारतमा यसै विषयमा चर्चा चलिरहेको छ

बीबीसी हिन्दीको सहयोगमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell