काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट बाँडफाँटका लागि कार्यदलको बैठक बुधवार पनि बस्ने तय भएको छ। सत्ता गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदलको बैठक भागबन्डाको टुंगो लगाउन बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज अपरान्ह ५ बजे बैठक बस्ने तय भएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए।
मंगलवार सत्ता गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकले पनि टिकट बाँडफाटबारे कुनै निर्णय गरेन। कार्यदलमा मापदण्डकै बारेमा सहमति जुटन नसकेको पुरीको भनाइ छ। २०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, गत वैशाखमा भएको स्थानीय तह निर्वाचन, दलहरुको अवस्था लगायतका आधारमा टिकट बाँडनुपर्ने विषयमा छलफल भइरहेको भए पनि सहमति भने हुन सकिरहेको छैन।
साउन २० गते गठन भएको कार्यदललाई साउन अन्तिम सम्म मापदण्ड बनाएर भदौ पहिलो साता प्रतिवेद दिन निर्देशन दिइएको थियो। तर,भदौ पहिलो साता सम्म पनि मापदण्डबारे नै सहमति हुन सकेको छैन।
नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट तीनजना, नेकपा माओवादी केन्द्रबाट दुईजना, नेकपा एकीकृत समाजवादीबाट दुईजना, जनता समाजवादी पार्टीबाट दुईजना र राष्ट्रिय जनमोर्चाबाट पनि दुईजना सदस्य छन्।
कार्यदलले शीर्ष नेताहरुको जित सुनिश्चित हुने गरि भागबण्डा गर्ने तयारी गरेको छ। यसका लागि शीर्ष नेतालाई जित्न सक्ने स्थानको खोजी गरेर बाँकीमा भागबन्डा गर्ने योजना बनाइएको छ।
२०७४ सालमा एमालेले जितेका सिटमा मात्रै भागबन्डा गर्नेबारेमा पनि गठबन्धनमा छलफल हुँदै आएको छ। गठबन्धन दलहरुले चाँडो भागबन्डा टुंग्याएर चुनावको तयारीमा लाग्नुपर्ने बताइरहेका छन्। स्थानीय तह निर्वाचनमा भागबन्डा गर्न धेरै समय लागेपछि गठबन्धनलाई क्षति भएको नेताहरुको भनाइ छ।
यस्तै मंगलवार बसेको कार्यदलको बैठक पछि गठबन्धनका नेताहरुले प्रतिक्रिया दिँदै कार्यदलको बुधवारको बैठकले भागबन्डा टुंग्याउने र बिहीवार गठबन्धनको बैठक बसेर अन्तिम निर्णय हुने दाबी गरेका थिए।
गत शनिवार कार्यदलले शीर्ष नेताहरुलाई भेटेर बैठकमा भएको छलफलबारे जानकारी गराएका थिए। उक्त बैठकले चाडै भागबन्डा टुंग्याउनुपर्ने भन्दै कार्यदललाई निर्देशन दिएको थियो। प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० सिटको टुंगो गठबन्धनले लगाउनुपर्नेछ। पहिला प्रतिनिधि सभाको टुंगो लगाउने र त्यसपछि मात्रै प्रदेशको टुंग्याइने कार्यदलका सदस्य पुरीले बताएका छन्। तर,भागबन्डाको खाका भने संयुक्त रुपमा बन्ने नेताहरुको भनाइ छ।