काठमाडौं : जुम्लाको पातारासी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा आइतवार बेग्लै रौनक थियो। दिउँसो स्थानीय हातहातमा माला र फूल लिएर बसेका थिए। राति उनीहरु सबै जना त्यहीँकै ऋण मोक्ष विद्यालयमा भेला भए। सो दिन कुनै जात्रा पर्व थिएन। गाउँमा पहिलोपटक हुँदै थियो नेपाली फिल्म प्रदर्शन, प्रदीप खड्का र दिया मास्के अभिनित फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर गरिएको थियो प्रोजेक्टरबाट।
फिल्मको प्रिमियरका लगि प्रदीपसँगै लेखक विकास सुवेदी तिर्खु गाउँ पुगेका थिए आइतवार। स्थानीयको भव्य स्वागतसँगै राति विद्यालयको प्राङ्गणमा सबै मिलेर ‘प्रकाश’को पहिलो प्रदर्शनी भयो। प्रदीप पनि विद्यालयको चौरमा स्थानीयसँगै बसे र फिल्म हेरे।
झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा पातारासीको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो। चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन्। त्यसैले पनि प्रदीपका लागि यो प्रिमियर शो निकै विशेष रह्यो।
‘जहाँ फिल्मको सेटअप छ। त्यहीँका बासिन्दालाई आफ्नोपन महसुस गराउन सके सफलता हासिल हुन्छ भनेर हामीले प्रिमियर गरेका हौं। उहाँहरुको प्रतिक्रियाले हामी सन्तुष्ट छौं,’ प्रदीपले भने।
अभिनय सिकेर फिल्ममा
प्रदीपका लागि यो फिल्मको विषेश महत्व छ। किन भने उनले यो फिल्ममा अभिनय गरेका छन्, अर्थात ‘हिरो’ मात्र बनेका छैनन् उनी। ‘प्रकाश’का लागि प्रदीपले अभिनय सिके। निर्देशक दिनेश राउतले नै उनलाई अभिनय सिक्न सुझाएका थिए, जुन उनका लागि नौलो अनुभव थियो। यसअघि प्रदीपले अभिनय सिकेका थिएनन्।
प्रदीप अनूप बरालसँग अभिनय सिक्न पोखरा पुगे। अभिनय कक्षाको पहिलो दिन। अनुपले प्रदीपलाई केही वाक्य याद गर्न दिए। तर उनले वास्ता नै गरेनन्। भोलिपल्ट अनुपले सोध्दा उनलाई केही आएन। फेरि पढेर आउ भन्दा प्रदीपको पारा त्यही। अनुपले एकदिन प्रदीपको हातमा एउटा पुस्तक थमाए र डाइलग याद गर्न भने। सोही समय बेकारमा फिल्म खेलेछु भन्ने लागेको उनले सुनाए।
‘सो समय फिल्म खेलेकोमा निकै पछुतो लाग्यो। अभिनय सिक्दा खेरि बेकारमा फिल्म गरेजस्तो महसुस भयो। यत्रो बुकको डाइलग कसरी याद गर्नु लाग्यो। राम्रै फिल्म खेलिरहेको थिए कहाँ फसेछु फिल भयो,’ प्रदीपले सुनाए।
प्रदीपले अभिनयमा ध्यान नदिएको देखेर अनुप निकै रिसाएछन्। अनुपले प्रदीपलाई सम्झाउँदै भने, ‘यस्तो तरिकाले हुँदैन। रोनाल्डो संसारमै चर्चित छ। तर ऊ दिनदिनै दौडिरहेको छ र अभ्यास गरिरहेको छ। एउटा गायकले दिनदिनै रियाज गरेन भने गायकी बन्दैन। त्यस्तै, तिमीलाई अहिले सबैले मन पराइरहेको छ। तर अभ्यास गरेनौं र आफूलाई निखारेनौ भने तिमी पनि बिस्तारै डाउन हुँदै जान्छौं। कलाकार भएसकेपछि आफूलाई अपडेट गर्दै लानुपर्छ।’
अनुपको कुरा सुनेपछि प्रदीपलाई आफूले गलत गरेछु भन्ने महसुस भयो। भोलिपल्ट उनले सबै डायलग याद गरे। अनुपले सम्झाएपछि नै अभिनय कक्षालाई गम्भिरतापूर्वक लिएको प्रदीपको भनाई छ।
प्राय: नेपाली फिल्ममा मुख्य अभिनेता अभिनेत्रीको अडिसन लिइँदैन। प्रकाशका लागि भने प्रदीपले अडिसन नै दिए। अभिनयको कक्षाले अडिसनमा उनलाई सहयोग गर्यो।
रिल र रियलको फरक
गत वर्षको चैत महिना ‘प्रकाश’ टिम छायाङ्कनमा लागि जुम्ला पुगेको थियो। फिल्मको सेटअप थियो २०६४/६५ साल तिरको। प्रदीप जुम्लाकै पोशाकमा तयार भएर सुटिङ स्थल जाँदै थिए। सोहीबेला कसैले भने : ‘यो प्रदीप खड्का नै हो र ? फिल्ममा मात्रै राम्रो देखिँदो रहेछ।’
फिल्ममा प्रदीपलाई हुबहु जुम्लाको ठिटो देखाउनु थियो। त्यसैले उनको लुक र ड्रेसअपमा निर्माण टिम ध्यान दिएको थियो।
प्रदीप भने फिल्मको पात्र ‘आर्यन लुक’को भएर अभिनयसँग ‘म्याच’ हुनेमा ढुक्क थिए। तर प्रदीपलाई उक्त पात्रमा ‘फिट’ हुन भने निकै चुनौती थियो। चुनौतीलाई सहज बनाउन उनी ‘लोकेसन हन्टिङ’का लागि जुम्ला गए। त्यहाँका मानिसहरूले बोल्ने र हिँड्ने तरिकाबारे बुझ्न थाले उनी।
त्यसपछि काठमाडौं फर्किएर प्रदीपले जुम्ला घर भएका प्लस टुमा अध्ययनरत दुई युवकसँग भाषा सिके। जुम्लाकै भाषा प्रयोग गरेर उनी बोल्न थाले। तीनमहिनासम्म भाषा सिक्दा उनी जुम्लाकै ‘टोन’ निकालेर बोल्न सक्ने भए। एकदिन अनूपले प्रदीपलाई पात्रमा डुब्नको लागि खाली खुट्टा हिँड्न सुझाए। अनुपको सुझावपछि गाउँले केटा जसरी भीरपाखामा खाली खुट्टा हिँडिन्छ, त्यसरी नै निरन्तर खाली खुट्टा हिँड्न थाले उनी।
हिरो र एक्टरसँगसँगै
यही फिल्मको सिलसिलामा प्रदीपको एउटा अभिव्यक्ति निकै चर्चामा रह्यो। उनले भनेका थिए : पहिले हिरो बने अब एक्टर बन्छु।
हिरो बन्ने रहरले नै फिल्मक्षेत्रमा भित्रिएका हुन् प्रदीप। हिरो बन्नकै लागि उनले आफ्नै लगानीमा फिल्म ‘स्केप’ बनाए। तर फिल्म फ्लप भयो। त्यसपछि ‘प्रेमगीत’ बाट उनी स्टार बने। ‘प्रेमगीत २’, ‘लिलिबिलि’, ‘रोज’ र ‘लभ स्टेशन’ लगायका फिल्मको मुख्य भूमिकामा देखिए। त्यतिबेलासम्म हिरोको भूमिकामा देखिनुलाई नै ठूलो उपलब्धि मान्थे उनी।
तर, जब फिल्म प्रदर्शन हुन्थे। उनी अभिनित फिल्मलाई समीक्षकले भन्थे ‘गुदी नभएको फिल्म’, ‘तरकारीमा नुन कम भएजस्तो’। यस्ता समीक्षाले नै हो उनलाई केही फरक काम गर्ने हुटहुटी जागेको।
फिल्म क्षेत्रमा आफू टिक्न पनि हिरोबाट एक्टर बन्ने चाहना राखेको उनको भनाई छ।
‘हुनत फिल्मको हिरो पनि एक्टर नै हो। जो लिडर बनेर गरिब र दु:खीको आवाज उठाउँछ त्यो नै हिरो हो। समाजमा पनि हिरोहरू छन्। फिल्ममा त्यस्तो हिरोलाई मात्रै केन्द्रमा राखेर फिल्म बनाइन्छ। फाइट गरेर सबैलाई बचाउनेलाई मात्रै हिरोको दर्जा दिइन्छ। जुन हिरो म बनिसकेको छु,’ उनले भने।
अघि थप्दै भन्छन्,‘हाम्रो समाजमा अरू पनि पात्रहरू छन। जो निमुखा र दु:खी छन्। जो हिरो बन्न सकेका छैनन्। त्यस्ता पात्रहरूलाई प्रतिनिधित्व गर्ने फिल्ममा काम गर्छु भनेको हुँ। मैले समाजमा पिडितहरूलाई एक्टरमा प्रस्तुत गर्छु भनेको हुँ। यसको मतलब मैले हिरोवाला फिल्म नखेल्ने भन्या चाँहि हैन।’
तिर्खु गाउँमा भएको फिल्म प्रदर्शनीबाट उनी हौसिएका छन्। उनले आफूभित्रको एक्टरलाई पर्दामा उतार्न सफल प्रयास गरेको बताएका छन्। सिनेमा घरमै फिल्म रिलिज भएपछि भने दर्शकले आफूलाई ‘हिरो’ मा मात्रै सीमित नगर्ने उनको दाबी छ। यसअघिका फिल्महरुमा ‘लबरब्वाइ’ बन्दै आएका प्रदीपको नयाँ रुपलाई दर्शकले कतिको मन पराउँलान्? त्यही चुनौतीबिच उनलाई कतै स्टारडम खस्कने डर त छैन?
उनले उत्तर दिए, ‘मलाई डर लागेको छैन। सधैँ एकैखाले भूमिकामा देखिन्छ भन्ने दर्शकको दिमागमा जुन सेट भएको छ। त्यसलाई भत्काउन निकै आवश्यक छ। समयसँगै मेरो उमेर र विचार पनि परिवर्तन हुँदै जान्छ। साथै अडियन्सको पनि। पहिले मन पराउने भूमिका पछि मन नपराउँन सक्छन्। त्यसैले अडियन्ससँगै मैले पनि अपडेट हुनुपर्छ भनेर फरक भूमिका गरेको हुँ।’
पछिल्लो समय फिल्म उद्योगमा दुर्गम जिल्लाका कथा भन्ने 'ट्रेन्ड' बढ्दो छ। ‘प्रकाश’ फिल्मले पनि कर्णाली क्षेत्रको मात्र नभई त्यहाँको समाजलाई पनि चित्रण गरेको प्रदीपको दाबी छ। त्यसैले त यस फिल्मलाई उनी एक विचारका रुपमा व्याख्या गर्छन्।
‘यस फिल्मले हरेक क्षेत्रको समाजलाई चित्रण गर्छ। आमाले छोरा प्रकाशका लागि गरेको संघर्ष सबैतिर मेल खान्छ। यो फिल्म एक विचार हो। दर्शकले विचारलाई मन पराएर इमोसन फिल गर्नुहुन्छ भन्ने कुरामा ढुक्क छु।’
यो फिल्मले जनतालाई झक्झकाउन सहयोग गर्ने समेत प्रदीप सुनाउँछन्। ‘प्रकाशले जनताहरूलाई झक्झकाउने छ। वर्तमान व्यवस्थामा के कमी कमजोरी भइरहेको छ त्यो जनतालाई थाहा हुनुपर्छ। जनताको चेतनास्तर बढ्दा मात्रै नेता फेरिन सक्छन्, ’ उनले भने।