काठमाडौं : विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। घटना बाहिरिएसँगै यस घटनामा जोडिएका कलाकारदेखि सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेको छ।
‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको हो।निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको थियो। तर, बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको जानकारी दिएपछि नक्कली कागजपत्र प्रयोग खुलेको हो। फिल्मको कलाकारमा नायक आर्यन सिग्देलको पनि नाम रहेको छ। नायक आर्यन सिग्देलले फिल्मको एउटा गीतको सुटिङको लागि नर्वे जाने निर्माण टिमसँग सहमत भएको स्वीकार गरेका छन्। तर फर्जी कागज बनाएर आवेदन दिएको भन्ने कुरा आफूलाई समाचार आएपछि मात्र थाहा भएको बताएका छन्।
'सुरुमा मलाई त ४/ ५ जना मात्र जाने भन्ने थियो। पछि पर्यटन बोर्डबाट फोन गरेर १४/ १५ जना जान लागेको भनेपछि म झस्किएको थियो। यदि १४/ १५ जना लग्न लागिएको भए त्यो मेरो नामको दुरुपयोग गरेको हो,' सिग्देलले भने।
पत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग भएको छ। प्रमुख रेग्मीले आफूहरूले कुनै पनि फिल्मको लागि सिफारिस नगरेको बताएका छन्। पर्यटन बोर्डको पत्र नम्बर ३०९ - २०७८/७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको छ। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम रहेको छ।
फिल्म सुटिङका लागि दूतावासमा केकी र आर्यन सहितलाई भिसाको लागि निवेदन, बोर्डले कागजात 'नक्कली' भनेपछि केस प्रहरीकहाँ
'यदि फर्जी कागजपत्र पेस भएको भए कारबाही गर्नुपर्छ। सुरुमा ४/ ५ जना जाने भन्ने अनि १४ जनासम्म लग्ने त्यसमा पनि नक्कली कागजपत्र पेस गरेको भए यो मेरो नामको पनि दुरुपयोग गरिएको हो,' कलाकार सिग्देलले भने।
फिल्मका निर्देशकमा दीपकप्रसाद आचार्यको नाम छ। त्यस्तै, निर्मातामा भने रोशन पराजुली रहेका छन्। पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको हो। यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ।
'यो गिरोहमा कोको छन्? के हो भनेर अनुसन्धान गर्न हामीले केस नेपाल प्रहरीलाई जानकारी दिएका छौँ,' बोर्डका प्रमुख रेग्मीले भने।
फिल्म ब्लु बर्ड एचडी प्राइभेट लिमिटेडले बनाउन लागेको जनाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। ब्युरोका प्रवक्ता एसपी कमल थापाले पर्यटन बोर्डले अनुसन्धानको लागि दिएको पत्र दर्ता भएर काम भइरहेको जानकारी दिए।
सरकारी पत्र दुरुपयोग मात्र होइन, फिल्मका नाममा मानव तस्करी समेत हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ। भिसाका लागि दूतावासमा दिएको आवेदनमा चलेका कलाकार आर्यन सिग्देल र केकी अधिकारीको नाम समेत राखिएको छ। भिसाको लागि आवेदन दिएको फिल्म कम्पनीको नाम निर्माता सङ्घमा दर्ता समेत नभएको भेटिएको छ।