काठमाडौं : नायिका केकी अधिकारीले आफ्नो नाम र कागजपत्र प्रयोग गरेर विदेशमा फिल्म सुटिङको लागि भिसा आवेदन दिएको विषयमा कानुनी अपचार खोज्ने बताएकी छिन्। बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले फिल्म निर्माण टिमविरुद्ध कानुनी प्रक्रियामा जाने बताएकी हुन्।
विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। घटना बाहिरिएसँगै यस घटनामा जोडिएका कलाकारदेखि सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेको छ।
‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको हो। निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको थियो। तर, बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको जानकारी दिएपछि नक्कली कागजपत्रको प्रयोग खुलेको हो।
फिल्म सुटिङका लागि दूतावासमा केकी र आर्यन सहितलाई भिसाको लागि निवेदन, बोर्डले कागजात 'नक्कली' भनेपछि केस प्रहरीकहाँ
पर्यटन बोर्डको पत्र नम्बर ३०९ - २०७८/७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको छ। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ। जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम रहेको छ। केकीले आफूले कुनै पनि तिम्रो नगर भन्ने फिल्लमा सम्झौता नगरेको बताएकी छिन्।
‘मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहान्छु,’ केकीले भनेकी छिन्।
फिल्मका निर्देशकमा दीपक प्रसाद आचार्यको नाम छ। त्यस्तै, निर्मातामा भने रोशन पराजुली रहेका छन्।
पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको हो। यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ।