PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

चुनावी ‘टिजर’ लिएर प्रचण्ड माडीमा, भने : चुनावी भाषण गर्न आएको होइन्, तर मागे ‘सहयोग’



पहिलोपोस्ट

चुनावी ‘टिजर’ लिएर प्रचण्ड माडीमा, भने : चुनावी भाषण गर्न आएको होइन्, तर मागे ‘सहयोग’

काठमाडौं : १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा (माओवादी) सबैभन्दा बढी आलोचित भएको घटना हो चितवन माडीको बाँदरमुँढे घटना। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी क्षेत्रमा पर्ने यस घटनाले अझै पनि उनलाई पोल्दै आएको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पुनः चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा रहेका प्रचण्ड बुधवार यस क्षेत्रमा उद्घाटन र शिलान्यासमा व्यस्त भएका छन्।

संघीय सरकारका दुई मन्त्री लिएर माडी पुगेका प्रचण्ड बुधवार दिनभर माडीमै व्यस्त हुँदै छन्। त्यहाँ उनले सडक तथा पुलको शिलान्याससमेत गरेका छन्।

संघीय सरकारका वनमन्त्री प्रदीप यादव, भौतिक योजना तथा पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईसहित माडी पुगेका उनले माडी नगरपालिका हुलाकी सडक अन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन गरे। माडीको बसन्तपुर बजारमा आयोजित कार्यक्रममा उनले पुलको उद्घाटन गरे।

त्यस्तै, माडीकै बरुवाबजार-भैरवपुर-पर्साचोक-बैदार-चिन्द्रेनी-अजिंगरे-सहिदपुर-गंगटे सडकको पनि शिलान्यास गरेका छन्। माडी हुलाकी सडक अन्तर्गत पर्ने माडी-ठोरी सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन्।

पूर्वाधारमन्त्री राईको उपस्थितिमा हुलाकी सडक अन्तर्गत पर्ने भरतपुर-माडी-ठोरी खण्डको स्तरोन्नति शिलान्यास गरे। उनले चुनावी कार्यक्रमको लागि आफू नआएको भनेपनि चुनाव केन्द्रित अभिव्यक्तिहरु दिए।

‘यो चुनावी सभा पनि होइन। र, आजै चुनावी भाषण गर्न म आएको पनि होइन। विकासका, हिजो देखि अगाडि बढ्दै आएका र अगाडि बढाउन पर्ने शिलान्यास, उद्घाटन, तपाईँहरुसँग भेटघाट गर्न आएका हुनाले अहिले नै चुनावी भाषण पनि गर्नु छैन’, रतनी खोला पुलको उद्घाटन कार्यक्रममा उनले भने, ‘तर, यत्ति भन्छु-मैले माडीको लागि, चितवनको लागि र देशको लागि जे गर्न चाहेको छु। त्यो सबैमा पूरा भए भन्नु मेरो छैन। मभित्र अझै पनि एउटा हुटहुटी छ। मैले अझ धेरै गर्नुछ- यो देशको निम्ति मैले अझै धेरै गर्नुछ-चितवनको निम्ति, ३ नम्बर क्षेत्रको निम्ति र माडीको निम्ति मैले अझ धेरै गर्नुछ।’

२०७४ को निर्वाचनमा लड्दै गर्दा माडीलाई मणि बनाउने भनेको भन्दै पूरा गर्न नसकेको बताए। उनले कसैको नकारात्मक टिप्पणी नगर्ने भन्दै गर्दा केपी ओलीले काम गर्न निदएको संकेत गरे।

उनले निर्वाचन लड्दै गर्दा केपी ओली र आफू एउटै मञ्चबाट भाषण गरेको तर, माडीमा जुन गतिमा काम गर्न चाहेको हो सोचे जति गर्न पाएको छैन भन्ने लागेको बताए।

‘निकुञ्जभित्र आकाशे पुलको कुरा, भूमिगत बाटोको कुरा गरेको थिएँ त्यो भएकै छैन। मैले यहाँ रिङरोडको कुरा गरेको थिएँ। त्यो पनि भएकै छैन। मैले सम्पूर्ण खोलामा तटबन्ध र बाटोको कुरा गरेको थिएँ। त्यो पनि सम्पन्न भएकै छैन। त्यसकारण मैले गर्नुपर्ने अझै धेरै बाँकी छ भन्ने मैलाई लागेको छ,’ प्रचण्डले भने।

उनले प्रचण्डलाई पटक-पटक चितवनमा कसरी असफल पार्न सकिन्छ भनेर प्रधानमन्त्रीको रुपमा तत्कालीन नेकपाका अर्का अध्यक्ष ओली लागेको आरोपसमेत लगाए।

‘मेरै पार्टीको प्रधानमन्त्री हुँदा काम नहुँदा माडीका सबै जनप्रतिनिधि लिएर प्रधानमन्त्रीलाई मैले भनेको थिएँ त्यतिवेला यदी तपाईँ हिजो चुनावमा भाषण गर्दा माडीलाई मणि बनाउन सहयोग गर्छु भन्ने अहिले माडीमा संकट पर्दा बेवास्ता गर्ने? भनेर जनप्रतिनिधि लिएर सिंहदरबारमा भेट्न गयौँ। सात दिन भित्र गर्छु भनेको काम अहिलेसम्म भएन। त्यो पीडता जति तपाईँलाई छ। त्यति मलाई पनि छ,’ उनले भने।

उनले माडीसँग भावनात्मक सम्बन्ध रहेको भन्दै अगाडि भने, ‘अब नयाँ माडी, समृद्ध माडी, सभ्य माडी बनाउने उद्देश्यको निम्ति पनि मेरो सपना कायमै छ। यहाँ म यत्ति नै कुरा भन्न चाहन्छु तपाईँहरुसँग- तपाईँहरुको साथ सहयोग भयो भने चितवनलाई माडीलाई नयाँ बनाउन सकिन्छ।’

उनले नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने बताए।

‘भरतपुर र माडीमा देशलाई नै मोडेल दिनेगरी विकास गर्ने चाहना छ। विस्तारै विकासले गति लिएको छ। निकुञ्ज ऐन संशोधनको गाँठो फुकाउन बाँकी छ। छिट्टै पूरा हुन्छ,’ उनले भने।

प्रचण्डले झण्डै पाँच अर्बको लगानीमा नारायणी तटबन्धको प्रक्रिया अगाडि बढेकोसमेत उनले बताए। राप्ती रिउ र खारा खोलामा पनि तटबन्धनलाई अगाडि बढाउने कुराको काम अगाडि बढेकोसमेत बताए।

‘आउने दिनमा हामी जे परिकल्पना गर्दै छौँ। ति परिकल्पना साकार गर्नका निम्ति नेतृत्व चाहिन्छ। जनताको बिचमा एकता चाहिन्छ। राजनीतिक दलहरुको बिचमा पनि न्यूनतम समझदारी र सहकार्य चाहिन्छ। त्यसको निम्ति माडीले एउटा उदाहरण प्रस्तुत गरोस्’, प्रचण्डले भने, ‘मैले तपाईँहरुको अधिकारको निम्ति तपाईँहरुको स्वाभिमानको निम्ति र तपाईँहरुले प्राप्त गर्नुपर्ने समानताका निम्ति हकको निम्ति अन्त्यसम्म लड्नेछु। यो आश्वासनको रुपमा भनेको छैन।’

कति सहज छ प्रचण्डलाई चितवन-३?

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड वाम गठबन्धनको तर्फबाट विजयी भएका थिए। स्थानीय तहको निर्वाचनमा जस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलबिच गठबन्धन लगभग जस्तै छ। यही अनुसार चितवन ३ माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ।

२०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट लडेका प्रचण्डले राप्रपाका विक्रम पाण्डेले भन्दा नौ हजार ३४१ बढी मत ल्याएर जित हात पारेका थिए। त्यतिबेला कांग्रेसले विक्रम पाण्डेलाई समर्थन गरेको थियो।

तर, अहिले परिस्थिति फरक छ। पाण्डेलाई समर्थन गरेको काङ्ग्रेसले प्रचण्डलाई समर्थन गर्नेछ र प्रचण्डलाई समर्थन गरेको एमालेले पाण्डेलाई समर्थन गर्न सक्नेछ।

क्षेत्र नम्बर ३ मा भरतपुर महानगरका १९ र माडी नगरपालिकाका सबै (नौ) वडा पर्छन्। स्थानीय निर्वाचनमा भरतपुरका ११ वडा काङ्ग्रेसले जितेको छ। एमाले र माओवादी केन्द्रले समान तीन-तीन वडा र एकीकृत समाजवादीले एक वडा जितेको छ। माडीमा माओवादी केन्द्रले चार वडा जित्दा एमाले एउटा वडामा जित हात पारेको छ। राप्रपा र एकीकृत समाजवादीले दुई-दुई वडा जितेको छ।

माडीको मेयरमा माओवादी केन्द्र पराजित भएपनि वडा तहमा बलियो छ। भरतपुरमा माओवादी केन्द्र कमजोर छ। भरतपुरमा काङ्ग्रेस बलियो छ। तर, स्थानीय तह निर्वाचनमा जस्तै काङ्ग्रेसका बागी उम्मेदवार प्रचण्डका लागि चुनौती हुन सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell