PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मधेश प्रदेशमा मुख्यमन्त्री र मन्त्रीदेखि सांसदसम्मको तलब वृद्धि, कसको कति पुग्यो?



पहिलोपोस्ट

मधेश प्रदेशमा मुख्यमन्त्री र मन्त्रीदेखि सांसदसम्मको तलब वृद्धि, कसको कति पुग्यो?

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ। मधेश प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा २ हजारले वृद्धि भएको छ।

मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा पारिश्रमिक प्रति महिना २ हजार थप गर्ने र क्र.सं. ५ को सवारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आइतवार आफ्नो आधिकारीक वेबसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको छ। जसअनुसार अब मधेश प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९७० रुपैयाँ तलब पाउने भएका हुन्।

यस्तै, मन्त्रीले ५९ हजार ७८०, राज्यमन्त्रीले ५८ हजार ४९० र सहायक मन्त्रीले ५५ हजार रुपैयाँ तलब पाउने भएका हुन्।

त्यस्तै, मुख्यमन्त्रीलाई प्रतिमहिना ३ सय लिटर सवारी इन्धन दिँदै आएकोमा अब प्रतिगाडी ३ सय लिटर इन्धन पाउनेगरी मन्त्रिपरिषद्बाट निर्णय गरेका हुन्। यस्तै, मन्त्रीले प्रतिमहिना २५०, राज्यमन्त्रीले २२५ र सहायक मन्त्रीले २०० लिटर सवारी इन्धन पाउँदै आएका थिए।

यसैगरी, प्रदेशसभाका पदाधिकारी र सांसदहरुको समेत दुई हजार तलब बढेको हो। अब सभामुखले प्रतिमहिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७८०, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९०, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यहरुले ५४ हजार ६ सय रुपैयाँ तलब पाउने भएका छन्।

त्यसैगरी, प्रदेश नीति आयोगका उपाध्यक्षले ५६ हजार ४९० र सदस्यहरु ५३ हजार रुपैयाँ तलब पाउँदै आएकोमा अब उनीहरुको तलब क्रमशः प्रदेश राज्यमन्त्री तथा प्रदेश सहायकमन्त्री सरह दिने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवनाथ पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell