PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रचण्डपछि पश्चिमा देशका राजदूतहरुले भेटे एमाले अध्यक्ष ओली



पहिलोपोस्ट

प्रचण्डपछि पश्चिमा देशका राजदूतहरुले भेटे एमाले अध्यक्ष ओली
फाइल फोटो।

काठमाडौं : पश्चिमा देशका राजदूतहरुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक रुपमा भेटेका छन्। नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटी तथा अस्ट्रेलिया, स्वीजरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले बुधवार एमाले मुख्यालय च्यासलमा सामूहिक भेट गरेका हुन्।

भेटवार्तामा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा अञ्जान शाक्य सहभागी थिए। भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको र त्यसमा प्रमुख विपक्षी दल एमालेको भूमिकाका विषयमा जिज्ञासा राखेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पुर्‍याउन उनीहरुले आग्रह गर्दै यससम्बन्धी चासो र चिन्ता व्यक्त गरेका थिए। नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल एमालेको प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उनीहरुले भनेका थिए।

सङ्क्रमणकालीन न्यायमा पीडितको आवाज सम्बोधन गर्नसमेत उनीहरुले आग्रह गरेका छन्।

भेटका क्रममा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको स्पष्ट पारेका थिए। त्यस्तै, अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट पेलपाल गरेर अगाडि बढाउनु न्यायोचित नहुने बताएका थिए।

‘जिल्ला-जिल्लामा गई पीडितहरूको आवाज सुनेर र प्रक्रिया पुर्‍याएर अगाडि बढ्नुपर्नेमा दुःखको विषय सत्ता गठबन्धन आजको आजै, अहिले नै हुनुपर्छ जस्तो ढङ्गले अगाडि बढेको देखिन्छ, त्यस्तो हुन सक्दैन,’ ओलीको भनाइ उदृत गर्दै विष्टले भने।

यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत-अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुंग्याउनुपर्ने ओलीले बताएका थिए।

भेटवार्तामा अध्यक्ष ओलीसँगै रहेका एमाले उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए।

यसअघि पश्चिमा देशका राजदूतहरुले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell