PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टी २० सिरिज आजबाट : कमजोर केन्यासँग किन खेल्दैछ नेपाल?



मुकुन्द घिमिरे

टी २० सिरिज आजबाट : कमजोर केन्यासँग किन खेल्दैछ नेपाल?

काठमाडौं : आइसीसीको टी २० वरीयतामा नेपाल १४ औं स्थानको टोली। कुनै समय विश्व क्रिकेटमा सशक्त टोलीको पहिचान भएको अफ्रिकी मुलुक केन्या ३० औं वरीयताको टोली। आजबाट नेपाली टोलीले केन्यासँग टी २० इन्टरनेसनलको पाँच खेलको सिरिज खेल्दैछ। त्यसपछि एकदिवसीय (ओडी) सिरिज। टी २० विश्वकप र एसिया कपमा नेपालसँग खेल्ने टोलीहरुको तालिका आइसक्दा नेपालले भने पछाडिको टोली केन्यासँगको सिरिज रोजेको छ।

यसपालाको टी २० विश्वकप तथा एसिया कपमा नेपालको सहभागिता नहुनुलाई भने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले छनोटको फर्म्याटलाई दोष देखाएका छन्। नेपाली टोलीलाई केन्याका लागि बिदाइ गर्दैगर्दा आईसीसीले कोरोनाको कारण देखाउँदै बनाएको फर्म्याटले नेपाल मारमा परेको बताएका थिए।

'क्रिकेट विश्वकपमा हामी यूएईसँग पराजित भएर छनोट हुन सकेनौं। हाम्रो लागि त्यो दुर्भाग्य हो। यसको छनोटमा हामीले ४ वटा म्याच जितेका थियौं, आयरल्याण्डले तीनवटामात्र जितेको थियो राउण्ड रोबिन भएको भए हामी पनि विश्वकपमा छनोट हुन सक्थ्यौं,' उनले भनेका थिए, 'कोरोनाको कारण देखाएर सेड्युल बनाएर पुल बनाएर डिभिजन गर्दा हामी अलिकति मारमा परिरहेका छौं। उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि।'

यो नेपालका लागि दु:खद पक्ष भएको उनको भनाई रह्यो।

कमजोर केन्यासँग किन सिरिज?

पछिल्लो एक वर्ष नेपाली टोलीमा धेरै गञ्जागोल भए। दुई जना प्रशिक्षक फेरिएर तेस्रो प्रशिक्षक आएका छन्। यसै वर्ष खेलाडी र क्यानबीच तथा खेलाडी आपसमै पनि सम्बन्ध चिसियो। त्यसैको प्रभाव पनि होला, क्रिकेट विश्वकप लिग २ का पछिल्ला सिरिजहरुमा नेपालको प्रदर्शन अपेक्षाकृत हुन सकेन।

'लिग टू का पछिल्ला दुई सिरिज सम्झनलायक रहेनन्। सबैले आफ्नो ठाउँबाट मेहेनत गर्दागर्दै पनि हाम्रो पक्षमा राम्रो नतिजा आउन सकेन,' चन्द भन्छन्।

यस्तोमा केन्यासँग सिरिज खेल्नुको अर्थ के? चन्दले यसका पछाडि केही कारण भएको बताउँछन।

'नोभेम्बरको दोस्रो हप्तामा हाम्रो लिग २ को महत्वपूर्ण सिरिज सुरु हुन्छ। नामिबियामा। अहिले नेपालमा मनसुनको बेलामा दक्षिण एसियामै वर्खा चलिरहँदा कसरी म्याच अभ्यास गराइरहने,' उनको तर्क छ, 'बाइल्याट्रल सिरिजको माध्यमबाट मित्रता बढाउने तथा आईसीसीको नीतिअनुसार अलि बलियो देशले आफूभन्दा अलि तलको देशलाई क्रिकेट माथि लैजान सहयोग गर्ने पोलिसी छ। एजीएममा पनि अनअफिसियल्ली नेपालले केन्या गइदिनु पर्‍यो भन्ने भएकाले र वर्षादमा म्याच नखेली बस्नु भन्दा हामी त्यहाँ गइरहेका छौं।'

चन्द खेलाडीले व्यक्तिगत रुपमा आफ्नो अभ्यास गरिरहे पनि इन्डोरमा अभ्यास गर्नुभन्दा बाहिर गएर अभ्यास खेल खेल्नु उपयुक्त भएको तर्क गरे।

म्याच अभ्यास नै गर्ने गरी केन्या वरीयतामा तल रहे पनि एकदमै रिक्वेस्ट आएको र कुनै बेला एकदिवसीय विश्वकप सेमिफाइनलमा भारत जस्तो टोलीलाई राम्रै पसिना चुहाएको टोली भएकाले पनि नेपालले सिरिज खेल्न लागेको उनले बताए। त्यसबाहेक नेपालको अर्को स्वार्थ हो, टी २० वरीयता सुधार्दै अर्को विश्वकपमा सिधा स्थान बनाउने। त्यसभन्दा अघि नेपालसँगको वरीयतामा साथमा रहेका यूएई, आयरल्याण्ड, नामिबिया, स्कटल्याण्ड लगायतका देशले क्रिकेटका शक्ति राष्ट्रसँग खेल्नु पर्ने तालिका रहेको अवस्थामा नेपाल कमजोर केन्यासँगै खेलेर भए पनि वरीयता सुधार्ने मुडमा छ।

'नि पाँचवटा टी २० आई छन् ती महत्वपूर्ण छ। २०२४ को टी २० आई विश्वकपमा हामीले सहभागी हुन सम्भव पनि छ। आफूभन्दा तलको टिमलाई जितेर वरीयतामा धेरै सुधार त नहोला तर हामी एक स्टेप माथि जान सक्छौं भन्ने हो,' चन्दले भने,' टप १२ मा आए सिधै विश्वकपमा छनोट हुन सक्छौं। त्यसका लागि तयार हुनुपर्ने। केन्या भ्रमणबाट वरीयता सुधारको अपेक्षा गरेका छौं।'

प्रभाकरलाई खेलाडी चिन्ने मौका

पुवुदु दासानायकेले नेपाली टोली बीचमै छाडेर गएपछि नेपाली टोलीको प्रशिक्षक बनेर आए भारतीय प्रशिक्षक मनोज प्रभाकर।

'बिग सिरिज भन्दा अगाडि अभ्यास सिरिजका रुपमा र मनोज प्रभाकर जीले चाही खेलाडीलाई नजिकबाट जान्ने चिन्ने अवसर पाउने छन् भन्ने हामीले विश्वास लिएका छौं,' चन्द भन्छन्, 'वहाँले क्रिकेट खेल्दै गर्दा हामी सबै त्यो बेलाका मनोज प्रभाकर हुन चाहन्थे। ओपनर बलर, ओपनर ब्याट्सम्यान। एकदिवसीयमा मात्र होइन, टेस्टमा पनि। वहाँले नेपाली टिमलाई माथि पुर्‍याउन महत्वपूर्व भूमिका हुनेछ भन्ने विश्वास छ।'

यता मैदानमा राम्ररी अभ्यास गराउन भ्याइनसकेका प्रशिक्षक प्रभाकरले युवा खेलाडीहरुलाई 'ट्यालेन्ट' भएको र उनीहरुको क्षमतालाई निखारेर उत्कृष्ट टोली बनाउन सकिने बताए।

'अभ्यास सेसनमा केही गल्तीहरु पाइयो, त्यसलाई सुधार्न सकिन्छ। सिक्ने प्रकृया चाँडो छ। मलाई आशा छ यसको असर केन्या टुरमा देखिन्छ, 'उनले भने, 'आधारभूत कुरा भनेको नयाँ बल कसरी फ्याक्ने र नयाँ बल कसरी खेल्ने भन्नेमा छ। यो उनीहरुमा डिपेन्ड गर्छ। मैले उनीहरुलाई स्वीङ बल कसरी फेस गर्ने भन्ने उनीहरुको बुझाइ बिकास गर्ने प्रयास गरेको छु। यो पक्ष उनीहरुमा छुटिरहेको थियो। उनीहरुले चाँडो सिक्ने छन् भन्ने मेरो आशा छ।'

प्रभाकरले आफ्नोको लक्ष्य भनेको टिमलाई राम्रो प्रदर्शन गराउने भएको भन्दै खेलाडी क्षमतावान भएको तर उनीहरुलाई कसरी उत्कृष्ट खेलाडी बनाउने भन्ने त्यो उनीहरुमा निर्भर हुने स्पस्ट पारे।

'मेरो अनुभवले भन्छ यो एकदमै 'र' टीम छ। समय लाग्छ तर उनीहरु राम्रो भएर अगाडि आउन सक्छन्। एकवर्षमा उनीहरु उत्कृष्ट टोली हुन सक्छन्,' उनले भने।

टी २० खेलेर सन्दीप सीपीएल जाने

नेपाली टोलीका कप्तान सन्दीप लामिछाने भने टी २० सिरिज सकेर क्यारेबियन प्रिमियर लिग खेल्न जाने बताए।

'टी २० को गेम खेलेर सीपीएल जान्छु। यदि नेपाल टी २० तोकिएको समयमै भए सीपीएलबाटै फर्कन्छु,' उनले भने।

टी २० सिरिज आजबाट

नेपाल र केन्याबीचको टी २० सिरिज आजबाट सुरु हुँदैछ। खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। नेपाली टोलीमा यसपटक पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्। यस पटकको टिममा कुशल भुर्तेल र बिनोद भण्डारीले भने स्थान बनाएका छैनन्। त्यस्तै, नेपाली टोलीमा पहिलो पटक अर्जुन साउदले स्थान बनाएका छन्। भिसाको समस्याका कारण सबै खेलाडी केन्या पुगेका छैनन्। यद्यपि खेल भने निर्धारित समयमै हुने क्यानले जनाएको छ।

नेपाली क्रिकेट टोलीले केन्यामा पाँचवटा टी २० इन्टरनेसनल र ३ वटा एकदिवसीय(ओडी) खेल खेल्नेछ।

नेपालले अगाडि अगस्ट २६, २८, २९ र ३० मा टी २० इन्टरनेशनल खेल्नेछ भने सेप्टेम्बर २, ३ र ५ मा एकदिवसीय सिरिज खेल्नेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उप-कप्तान), आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसीर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell