
काठमाडौं : उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेको मौकामा भागेका कैदी भोला बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीवार बिहान ललितपुरको लुभूबाट बुढाथोकीलाई नियन्त्रणमा लिएको प्रहरीले जनायो।
नेपाल प्रहरीको अनाश्रीत गुल्म नख्खुमा रहेका उनी उपचारका क्रममा भागेका थिए। कर्तव्य ज्यान मुद्दाका कैदी रामेछापका बुढाथोकीलाई कारागारले उपचारका लागि अस्पताल पुर्याइएको थियो। बुधबार अपराह्न करिब सवा चार बजे बुढाथोकी भागेका हुन्।
घटनापछि प्रहरीले कारागार कार्यालय नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ भने यस्तै कैदीको सुरक्षामा खटिएका प्रहरीलाई निलम्बन गरिएको छ।
घटना अनुसन्धानका लागि प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ।