PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थानीय तहमा पराजित भएकालाई प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनाउने कि नबनाउने? एमालेले गर्दै छलफल



पहिलोपोस्ट

स्थानीय तहमा पराजित भएकालाई प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनाउने कि नबनाउने? एमालेले गर्दै छलफल

काठमाडौं : नेकपा (एमाले)को पोलिटब्युरो बैठक प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित भएको छ। मंसिर ४ गते हुने चुनावका लागि उम्मेद्वार छान्ने मापदण्ड, पार्टीको रणनीति लगायतका विषयमा बैठकमा छलफल भइरहेको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिए।

यसअघि भदौ ७ गते स्थायी कमिटीको बैठक बसेको थियो। उक्त बैठकमा पनि चुनावी रणनीतिका बारेमा केन्द्रित भएर स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका थिए।

भदौ १० र ११ गते एमालेको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। उक्त बैठकको एजेण्डा आजको पोलिटब्युरो बैठकले तय गर्ने भट्टराईले बताए।

बैठकले कस्तो नेतालाई चुनावमा उम्मेदवार बनाउने भन्नेबारेमा टुंगो लगाउने छ। राष्ट्रिय सभाका सांसदलाई राजीनामा गराएर प्रतिनिधिसभाको उम्मेद्वार बनाउने कि नबनाउने भन्नेबारेमा पनि टुंगो लगाउने छ।

‘राष्ट्रियसभाका सांसदलाई राजीनामा गराएर उम्मेदवार बनाउनु अनुचित कि अनुचित भन्ने प्रश्नको ठोस जवाफ बैठकले निरुपण गर्नेछ’, भट्टराईले भने।

समानुपातिक सांसद र स्थानीय तह निर्वाचनमा पराजित भएकालाई के गर्ने भन्नेबारेमा पनि बैठकमा छलफल भइरहेको छ। एमालेले सचिवालय बैठक, स्थायी कमिटी,पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीको बैठकबाट आफ्नो पार्टीको चुनावी रणनीति तय गर्ने छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा घोषणापत्र मस्यौदा समिति र चुनाव परिचालन कमिटी गठन भइसकेको छ।

स्थायी कमिटीको बैठकमा अध्यक्ष ‌ओलीले एमाले एक्लै चुनावमा जाने नेताहरुलाई ब्रिफिङ गरेका थिए। विचार मिल्ने साना दलहरुसँग केही ठाउँमा तालमेल हुन सक्ने भएपनि समग्रमा एमाले एक्लै चुनावमा उत्रिने तयारीमा लागेको ओलीको भनाइ छ।

एमालेले आफ्ना विरुद्धमा सत्ता गठबन्धन रहेको भन्दै मंसिरमा हुने चुनाव एमालेका लागि चुनौतिपूर्ण हुने बताइरहेको छ। स्थानीय तहको नतिजा लगत्तै एमालेले पनि वाम गठबन्धनका लागि विभिन्न दलहरुसँग अनौपचारिक संवाद गरेको थियो। तर, सत्ता गठबन्धन दलहरुले तत्काल एमालेसँग सहकार्य हुन नसक्ने बताएपछि वाम गठबन्धन बन्न सम्भव भएन।

एमालेभित्र केही नेताहरुले वाम गठबन्धन गरेर चुनावमा जानुपर्ने मत राखिरहेका छन्। तर, अध्यक्ष ओली लगायतका नेताहरुले भने तत्कालका लागि चुनावी तालमेलको सम्भावना नरहेको भन्दै कार्यकर्तालाई एक्लै चुनाव लडने तयारी गर्न निर्देशन दिइरहेका छन्।

स्थानीय तह निर्वाचनमा एमाले एक्लै र सत्तामा रहेका ५ दलबिच चुनावी गठबन्धन भएपछि एमालेले २०७४ सालको भन्दै आफ्नो शक्ति गुमाएको थियो। २०७४ मा २९४ सिटमा जित निकालेको एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा २०६ ठाउँमा मात्रै जित्न सफल रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell