PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आश्वासन र योजना लिएर भलिबल संघको महासचिवमा मनबीर छन्त्यालको उम्मेदवारी, ७ वर्ष कप्तानी गरेको खेलाडीलाई कार दिने



पहिलोपोस्ट

आश्वासन र योजना लिएर भलिबल संघको महासचिवमा मनबीर छन्त्यालको उम्मेदवारी, ७ वर्ष कप्तानी गरेको खेलाडीलाई कार दिने

काठमाडौं : नेपाल भलिबल संघको आसन्न निर्वाचनमा मनबीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। भदौ २२ गते हुने निर्वाचनमा ढोरपाटन क्लबका अध्यक्ष तथा हालका सचिव छन्त्यालले आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

उनले सानै उमेरबाट भलिबलमा लागेकाले अनुभव राम्रो भएको भन्दै उम्मेदवारी दिएको बताए । भलिबल संघको उतारचढावको साक्षी भएको भन्दै उनले भने,'भलिबल खेललाई कसरी विकास गर्न सकिन्छ भन्ने यथेष्ट अनुभव रहेको छ। भलिबलले जुन तरिकाले गति लिइरहेको छ, त्यसमा मेरो पनि मेहेनत परेको छ।

उनले थप भने, ‘संघको गतिविधिमा सहभागी भइ हरेक बैठक उपस्थित मात्र होइन संघले दिएको जिम्मेवारी इमानदारीताका साथ पुरा गरेको छु। अझै महासचिव पदमा रहेर भलिबलमा योगदान गर्ने अटुट इच्छा रहेकाले यसको घोषणा गर्दछु।’

छन्त्यालले भलिबलमा टिकट प्रणालीको सुरुवात, लिग प्रणालीलगायतको सुरुवातलगायतको जस पनि लिए।

'बाउबाजेले राम्रो काम गरेर मर्नुपर्छ है भन्ने गर्थे। त्यो म सम्झन्छु। सम्झनलायक काम गर्न मन छ,' उनले भने।

योजनको लिस्ट

भलिबलको विकासका लागि पूर्णकालीन पदाधिकारीको आवश्यकता पर्ने र आफू त्यसका लागि सक्षम भएको उनले बताए। फ्रेन्चाइज प्रतियोगिता, क्षेत्रीय फ्रेन्चाइज, मुख्यमन्त्री कप, बीच भलिबलको बिस्तार गर्ने लगायतका योजना उनले सुनाए।

उपत्यकाका निजी विद्यालयमा बालबालिकालाई भलिबल सिकाउन सके खेलाडी उत्पादनमा सहयोग हुने उनको अपेक्षा छ। त्यस्ता विद्यालयमा कोच पठाएर आफूहरु सहयोग गर्न तयार रहेको उनले बताए।

उनले बालबालिकालाई खेलाडी बन्न अभिप्रेरित गर्ने भनिरहँदा उमेर समूहमा संघले टीम बनाउन नसकेर सहभागिता जनाउन सकेको छैन। यसमा सचिवका रुपमा आफ्नो पनि दायित्व भएको उनले स्वीकारे।

‘अब कम उमेरका बालबालिकालाई खेल्न सिकाएर विद्यालयसँग साझेदारी गर्ने हो। जितेको खण्डमा ६ महिनामा फरक देखिने गरि काम गर्छु,’ उनले भने।

यस्तै उनले राष्ट्रिय टोलीमा ७ वर्ष कप्तानले कार पाउने, संन्यास लिने खेलाडीले बाइक पाउने गरी काम गर्ने योजना सुनाए।

'हिजो केही नहुँदा ढोरपाटनले केही नहुँदा पनि स्कुटी दिन सक्थ्यो भने संघ भने ठूलो ठाउँ हो। यो सम्भव छ,' उनले भने, 'म त सिधा मान्छे। कुनै साथीहरु भोट जित्न साम, दाम, दण्ड भेद प्रयोग गर्लान्। मसँग सबैको नम्बर छ। सबैलाई सोध्दा छन्त्यालजी तपाईंले जित्नुपर्छ भन्छन्। त्यसले गर्दा भोट हाल्छन् भन्ने छ,' उनले भने।

 भलिबल संघको अध्यक्षमा यसअघि निरोज मास्केले उम्मेदवारी घोषणा गरिसकेकी छिन्। छन्त्यालले २०/२१ गते सम्ममा पूरा टिमको घोषणा हुने बताए।

अध्यक्षमा हालका महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिने चर्चा चले पनि उनले उम्मेदवारी दिने नदिनेबारे स्पष्ट पारिसकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell