काठमाडौं : अनधिकृत रुपमा बनाइएका संरचना बनाएको भन्दै केही घण्टा अगाडि ‘वार्निङ’ दिँदै हिँडेका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) नयाँबानेश्वस्थित अल्फाबिटामा डोजर लिएर पुगेका छन्। अल्फाबिटाले भूँइ तलालाई पार्किङको सट्टा व्यवसायिक प्रयोजनको लागि प्रयोग गरेको भन्दै मेयर साहको टोली कारबाहीको लागि अल्फाबिटा पुगेको हो।
आज बिहान बालेन नयाँबानेश्वर, शंखमुल र बुद्नधगर क्षेत्र पुगेका थिए। नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन उनले सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका थिए। पार्किङमा भएका व्यवसायहरु हटाउन निर्देशन दिएका छन्।
जब उनी बुद्धनगरस्थित अल्फाबिटामा पुगे, त्यहाँ भने माहोल केही तात्यो। अगाडिसम्म शान्त बनेका मेयर साहले संरचना हटाउन भन्दै सम्बन्धित व्यक्तिलाई भनेका थिए। त्यसपछि उनले हटाउने नोटिस र नक्साको कुरा निकालेपछि मेयर जंगिएका हुन्।
मेयर साहले जंगिदैं प्रश्न गरे- तपाइको घरको नक्सा मसँग हुन्छ कि तपाइसँग ?
त्यसपछि वरपर रहेका अन्य मानिसले पनि मेयर साहलाई शान्त भएर बोल्न आग्रह गरेका थिए।
नक्साको अध्ययन गरेर महानगरले अलफाबिटामा थप कारवाही गर्ने तयारी गरेको हो। अहिले अलफाबिटा रहेको क्षेत्रमा धेरै संख्यामा प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ। मेयर साह भने अहिलेसम्म अल्फाबिटा पुगेका छैनन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मिरा चौधरीसहितको सुरक्षा टोली पुगेको छ।