PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आमाको पर्खाइको कथा लिएर ‘करियरको कमब्याक’ गर्दै सुवर्ण थापा



लक्ष्मी बलायर

आमाको पर्खाइको कथा लिएर ‘करियरको कमब्याक’ गर्दै सुवर्ण थापा

काठमाडौं : २०३५ साल, सुवर्ण थापा त्यतिखेर ६/७ वर्षका थिए। बुवाआमासँगै मामाघरबाट घर फर्कँदै थिए उनी।

रौतहट चन्द्रनिगाहपुरबाट रजहर परासीसम्मको यात्राको बिच बाटोमै उनका बुवा अचानक बसबाट ‌ओर्लिए। आमालाई केही नभनी गएका उनका बुवा घर फर्किएनन्। बुवा हराए, कहाँ गए र कस्तो अवस्थामा छन् भन्ने खबर नै आएन।

करिब ८/९ महिना पछि उनका बुवा अचानक घर फर्किए। बुवा हराउँदा दाह्रीजुँगा थिएन तर, फर्किँदा झ्याप्प दाह्री थियो। सानै हुँदा भएको घटनाबारे उनले आमाबुवासँग भने कहिल्यै कुरा गरेनन्।

बुवा हराएको घटना सुर्वणको मस्तिष्कबाट धुमिल हुँदै गइरहेको थियो। मानिस हराएका घटनाको खबर भने उनले सुनिरहन्थे।

यसैबिच २०७१ तिर उनले आफ्ना बुवा हराएको कुरा पनि फ्याट्टै सम्झे। अनि बाल्यकाल देखेको, भोगेको घटनालाई कथा बनाउने निधो गरे।

‘बुवा कहाँ जानुभएको थियो भन्ने अहिले थाहा पनि छैन। र, मैले कहिल्यै सोध्दा पनि सोधिन। तर जाने त जान्छन् पर्खनेलाई गाह्रो हुन्छ। त्यो समयमा सम्पर्क गर्ने माध्यम पनि थिएन। हुनत मलाई आमाले महसुस गरेको कुरा याद छैन। तर मेरो आमाले कसरी पर्खनुभयो होला, के गर्नुभयो होला भन्ने खोज्दै मैले राधा लेख्न खोजेको हो,’ सुवर्णले भने।

सुर्वण आफ्ना अनुभव र भोगाईहरूलाई कथामा उतार्न माहिर छन्। ८ वर्ष अघि मानिस हराएको भोग्ने व्यक्तिलाई कति गाह्रो हुन्छ भनेर उनले लेख्न थालेको।

उनले भने, ‘जाने मान्छेहरू त जान्छन् तर भोग्नेलाई निकै गाह्रो हुन्छ। भोग्नेले उसको त्यो अनुपस्थिति र अभावलाई कसरी सन्तुलन गर्छ? हराएकोलाई खोज्ने भन्दा पनि पर्खिँनेको कथा हो 'द सिक्रेट अफ राधा'।’

पाँच वर्षअघि भने बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एसीएफ (एसियन सिनेमा फन्ड) मा उनले ‘राधा’ फिल्मको स्क्रिप्टको ड्राफ्ट पठाएका थिए। उनको निर्माणधिन स्क्रिप्टले १० लाख अनुदान समेत पाएको थियो।

त्यही अनुदान पाएसँगै सुर्वणले फिल्म बनाउने योजना अघि सारे। तर, बिचमा अन्य योजनामा व्यस्त हुँदा फिल्म निर्माणको काम समयमै अगाडि बढ्न सकेन।

+++++

कोरोना महामारीले हरेक क्षेत्र नराम्ररी थला पर्‍यो। लकडाउनबिच सुर्वण पनि घरमै बस्न बाध्य भए।

भएका कामहरू रोकिए। अरु कामहरू नहुँदा उनले फेरि ‘राधा’  बनाउने निधो गरे। पहिलो र दोस्रो लकडाउनबिच फिल्मको छायाङ्कन पूरा गरे उनले।

लगभग २० वर्ष फ्रान्स बसेर सन् २०१७ मा नेपाल फर्किएका हुन् सुर्वण। फ्रान्समा फिल्म मेकिङको अध्ययन गरेका उनको फिल्म ‘द सिक्रेट अफ राधा’ प्रति निकै ठूलो आश छ। 

‘द सिक्रेट अफ राधा’ मा उठाएको विषयवस्तुलाई दर्शकले मन पराउनेमा आशावादी रहेका उनी यस फिल्मलाई ‘करियरको कमब्याक’को रुपमा व्याख्या गर्छन्।

 ‘कन्टेन्ट र भावनात्मक हिसाबले फिल्म राम्रो बनेको छ। सिक्रेट भन्ने बित्तिकै फिल्ममा ट्विस्ट र सस्पेन्स आइहाल्छ। राधा एक आँटिली महिलाको कथा हो। जसले अरुलाई समस्यामा नपारि आफैँ समाधान खोज्छे। राधा पात्रले अरु महिलालाई हौसला दिनेछ। राधाजस्तै आँटिली महिलामा मैले यो फिल्म समर्पित गरेको हुँ,’ थापाले भने।

पछिल्ला फिल्महरू नचल्दा डर

पछिल्लो समय नेपाली फिल्महरू चल्न सकेका छैनन्। जेठमा रिलिज भएको ‘कबड्डी ४’ पछि कुनै पनि नेपाली फिल्महरू बक्सअफिसमा सफल हुन सकेको छैन।

नाम चलेकै कलाकारहरूको फिल्म पनि व्यावसायिक रुपमा असफल भए। दुई महिनादेखि बहुप्रतिक्षित भनिएका फिल्महरू राम्रोसँग नचल्दा सुर्वणलाई डर लागिरहेको छ :  राधा पनि फ्लप त हुने होइन?

‘अहिले बलिउड लगायत नेपाली फिल्महरू पनि राम्रोसँग चलेका छैनन्। फिल्म राम्रो नभएर नचलेको होकी वा राम्रो फिल्म हुँदाहुँदै दर्शकहरू हलमा नआएको हो? जुन रहस्य जस्तै लागिरहेको छ। यसलै एक किसिमको प्रेसर थपिएको छ,’ उनले भने।

बहुप्रतिक्षित भनिएका फिल्महरूले दर्शकलाई बाध्न नसक्दा दर्शक हलसम्म नआएको उनी सुनाउँछन्।

‘यी फिल्महरूमा दर्शकको निकै आशा थियो। फरक खालको सिनेमा भनेर प्रचार पनि राम्रै भएको थियो। तर कन्टेन्टअनुसार कथा भन्न चुके निर्देशकहरू। कथाले दर्शकलाई बाध्न सक्नुपर्दो रहेछ। त्यो बेला कुनै चलेका कलाकार नहुँदा पनि ‘चपली हाइट’ लाई मन पराइएको थियो। जुन कथाले बाँधेर हो। ‘पशुपति प्रसाद’लाई पनि त दर्शकले रुचाएका थिए। कतै हामी कथा भन्ने होडमा दर्शकलाई कथा बुझाउन नै बिर्सियौँ कि?’ थापाले प्रश्न गरे।

दर्शकलाई हलसम्म तान्न ‘फिल्म मेकर’ले नै वातावरण सिर्जना गर्नुपर्ने उनको तर्क छ। फिल्मले सन्देश दिनुपर्ने भन्दै उनले दर्शकलाई सचेत गराउनु र झकझकाउनु आफूहरुको काम भएको उनले बताए।

उनी भन्छन्, ‘मेकरले फिल्ममा विचार राख्न पाइन्छ तर दर्शकले बुझेनन् भन्न मिल्दैन। फिल्म आफ्नो लागि बनाए पनि त्यसले निर्देशकले समाजलाई कसरी हेर्छ भन्ने कुरा देखाउँछ। विचारलाई समाजलाई स्वीकार गर्दैन भने त्यसको काम छैन। त्यसैले मेकरले नै सबैखालका दर्शकलाई बुझ्न तरिकाले फिल्म बनाउनुपर्छ।’

विदेशमा पोस्ट प्रोडक्सन

प्राविधिकरुपमा फिल्म बलियो हुनुपर्नेमा सुर्वणको मत छ। नेपाली फिल्मको ‘पोस्ट प्रोडक्सन’को काम बढीजस्तो भारतमा हुन्छन्। सुर्वण भने फिल्मको पोस्ट प्रोडक्सनको काम युरोपमै गर्न सजिलो हुने बताउँछन्।

‘युरोपमै बसेको भएर त्यहाँ त्यही सजिलो हुन्छ। त्यहाँ मैले मौका पाइरहेको छु। भारतको भन्दा सस्तोमा काम हुन्छ र, गुणस्तरिय पनि हुन्छ। प्रोस्ट प्रोडक्सनको काम फिल्मको ट्रिटमेन्ट हो। जहाँ राम्रो हुन्छ हामीले त्यही उपचार गर्नुपर्छ,’ उनले भने।

नेपालमा फिल्म निर्माणको प्राविधिक पक्ष अझै कमजोर रहेको उनी बताउँछन्।

‘फ्रान्समा पढेपछि नै प्राविधिक पाटो बलियो हुनुपर्छ सोच आएको हो। मलामीमा पनि उतैको टिम ल्याएर काम गरेको हुँ। 'राधा'को म्युजिक ब्याकगाउण्ड स्कोर फ्रान्समै गरिएको हो। फ्रान्सेली ब्याक ग्राउण्ड स्कोर गर्नेलाई विदेशीजस्तो फिल नहोस् भनेर नेपाली बाजा र नोटेशनहरू दिएको थिए। साथै मिक्सिङ भने बार्सिलोनाको डब्ली स्टुडियोमा गरिएको हो,’ थापाले भने।

नेपाली फिल्मको सबैभन्दा ठूलो कमजोरी प्रस्तुतिकरण रहेको स्विकार्छन् थापा।

उनी भन्छन्, ‘नेपालमा कथावस्तु धेरै छन्। तर, सानासाना सहयोग गर्ने चिजहरु छैनन्। हामीसँग प्राविधिकहरू छन् तर उनीहरूलाई बाहिरको सिनेमासँग प्रतिस्पर्धा गर्न सक्ने ज्ञान छैन। स्टोरी टेलरिङ र प्राविधिक पाटोमा हामी निकै कमजोर छौँ। अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा प्रतिस्पर्धा गर्नको लागि फिल्म प्राविधिक पक्षले बलियो हुनुपर्छ।’

‘निर्देशक भनेर चिनिनु नै उपलब्धी’

१५ वर्षअघि बनाएको सर्ट फिल्म ‘मलामी’ पनि सुवर्णले आफ्नै कथालाई सापटी लिएर बनाएका हुन्। सुर्वण फ्रान्समा हुँदा उनका बुवाको मृत्यु भएको थियो।

त्यसबेला उनी नेपाल फर्किन सकेनन्। बुवा बित्दा नेपाल आउन नपाएको थकथकीको उपज हो ‘मलामी’।

‘सुनगाभा’को कथा पनि उनले वरपर देखेका घटनाबाट विकास गरेका हुन्। समंलिङ्गी प्रेमकथामा आधारित यस फिल्मले सुवर्णको बेग्लै पहिचान बनाइदियो। त्यसैले त सुर्वणले फरक खालको फिल्म बनाउँछ भन्ने छाप परेको छ फिल्म क्षेत्र र दर्शकमा।

‘सुनगाभा’ निर्माण गर्दा उनले आफ्नो घर नै बचेर बनाएका थिए। सोही समयमा पनि फिल्म बनाउन ८०/९० लाख खर्च भएको उनी बताउँछन्। भलै फिल्मले हलमा राम्रो व्यापार गर्न सकेन। तर, उनी यो खर्चलाई लगानीका रुपमा हेर्छन्।

उनले भने, ‘विदेश जाँदा मानिसहरू कति लगानी गरेर पढछन्। सुनगाभा बनाउनु मेरो लागि एउटा लगानी थियो। सुनगाभा बनाउने निर्देशकको रुपमा चिन्नु नै ठूलो उपलब्धी हो। राधा बनाउन पनि श्रीमतीको सुन बेचेको छु। यस फिल्मले करियरमाथि उकास्ने छ भन्ने आश छ।’

सुर्वणले बनाएको फिल्महरुले फरक खालको हुने भनि प्रतिक्रिया पाउँछन्। केही फिल्महरूले त अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड समेत जिते। 
बक्सअफिसमा भने उनका फिल्महरूले सफलता पाउन सकेको छैन। तर, पनि सुर्वणको फिल्मक्षेत्र प्रतिको लगाव भने कहिल्यै कम भएन। आफूले फिल्म क्षेत्र छोड्न नसक्ने उनको उनको भनाइ छ।

‘मैले जानेको काम नै यही हो। मैले हरेश खाएको भए फ्रान्स गएर काम गर्थे होला, उतै बिजनेस गर्थे होला। तर, त्यो म गर्न सक्दिन। किनकी म यसैमा खुसी छु। सुखी छैन होला खुसी चाँहि अवस्य छु,’ उनले भने।

‘राधा’ नेपाली दर्शकका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि तयार गरेको सुनाउँछन उनी।

उनले भने, ‘मैले खासमा यो फिल्म नेपाली दर्शकका लागि नै बनाएको हुँ। तर, यसको दुइटा भर्सन छ। एउटा नेपाली दर्शक र अर्को फेस्टिभलको लागि। फेस्टिभलको अलि छोटो छ। किनकी विदेशी अडियन्सलाई कति कुरा बुझाई राख्न पर्दैन। राधा ‘ब्ल्याक एण्ड ह्वाइट’ मा पनि छ। श्यामश्वेतमा राधालाई हलमा प्रदर्शन गरिनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell