
- शेषमणि भट्टराई-
गत साउन ४ गते। प्रा.डा. धर्मराज डङ्गोल, भोलाकुमार श्रेष्ठ, धनबहादुर कठायतसमेत हामी ४ जना एक हप्ताको लागि जुम्ला हिँडेका थियौं। काम थियो - संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको साझेदारीमा मुगु, जुम्ला, दैलेख र सुर्खेतमा सन् २०२० जनवरीदेखि कार्यान्वयन भइरहेको कर्णालीमा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि सरोकारवालाहरूको क्षमता अभिवृद्धि परियोजनाको। हामी हिँड्ने दिन बिहानैदेखि वीरेन्द्रनगर, सुर्खेतमा नरोकिने गरी वर्षा भइरहेको थियो। हामीले भाडामा लिएको 'डि नमस्ते होटल'को निसान पिकअपमा सुरक्षित रूपमा हाम्रो ब्याग र प्रकाशित सामग्रीहरू कसरी लैजाने भन्ने विषयले केहीबेर हामीलाई तनाव पनि भयो।
एफएओकै गाडी केही समयअघि मात्र महेन्द्र यादव र मधुसुदन पौडेललाई लिएर मुगुको लागि हिँडेको थियो। भोलाकुमार श्रेष्ठले फोन सम्पर्क गरेर गाडी चेन्ज गरेर समस्या समाधान गर्न पनि प्रयास गर्नुभयो। तर महेन्द्र सरबाट आफूहरू मुगुसम्म पुग्नुपर्ने भएकोले सुविधायुक्त गाडी नै चाहिने भन्ने भाव व्यक्त भएपछि अन्य विकल्पबारे केहीबेर हामीबीच छलफल भयो। गाडीमा त्रिपाल किनेर सामान छोप्ने सल्लाह हुँदै गर्दा गुरूजीले होटलमै त्यो गाडीको लागि विशेष अर्डर गरी बनाइएको त्रिपाल र ब्यागहरू राख्नसमेत त्रिपालकै छुट्टै ब्याग भएकोले बजारमा त्रिपाल किन्नु भन्दा होटलमा गएर त्रिपाल ल्याउन उचित हुने सल्लाह दिए। त्यसै अनुसार हामी होटलमा गएर त्रिपाल राख्यौं। हाम्रो सामान जतनसाथ जुम्ला पुग्नेमा हामी निश्चिन्त भयौं र हाम्रो यात्रा करिब ९ बजे सुर्खेतबाट अघि बढ्यो।
कपासेबाट उकालो लागेपछि सडक वरपर देखिने हरेक वनस्पतिबारे त्यस्को वैज्ञानिक नाम, वैज्ञानिक नाम राखिएको वस्तुगत आधार र त्यस्को प्रयोगबारे विस्तृत जानकारी गराउँदै डङ्गोल सरले हाम्रो यात्रालाई यात्रामात्र नभएर ट्राभेलिङ्ग सेमिनारको रूपमा रूपान्तरित गराउँदै लैजानु भयो। जुम्ला पुग्दा हामीले रामपुर क्याम्पसमा पढेको विषयको पुनरावृत्ति हुँदै गएको महशुस भइरहेको थियो। सरले हामी तीनै जनालाई रामपुरमा पढाउनु भएको र धेरै वर्षपछि यसरी हामीहरूलाई नै पढाउने प्राध्यापकसँग सम्बन्धित विषयमा नै केन्द्रित रहेर यात्रा गर्दाको क्षण वास्तवमै अविस्मरणीय थियो।
जुम्लामा हाम्रो बसाई होटल दौंतरीमा थियो। भान्सामा खाना बनाउने न्यौपाने भाइले फरक फरक स्वादका खाना तयार पारेर दिन्थे। एकदिन हाम्रो खानामा एउटा कचौरामा हरियो रङ्गको थप परिकार थियो। हामी चारैजनाले त्यो परिकार चिन्न सकेनौं। कहिल्यै नखाएको स्वाद थियो। न्यौपाने भाइलाई बोलाएर सोध्यौं। उक्त स्वादिष्ट तरकारी बाँकोको साग भन्ने जानकारी पायौं। बाँकोको पात वा भर्खर निस्केको सुइरो तरकारीको रूपमा खाने गरिंदो रहेछ। यसको हरियो पातबाट गुन्द्रुक बनाएर पनि खाने गरिन्छ भन्ने जानकारी पायौं। बाँकोको व्यावसायिक रूपमा खेती नगरिने भएकोले विषादी र रासायनिक मलको प्रयोग पटक्कै नहुने हुँदा विशुद्ध अर्गानिक उपजको रूपमा स्वीकार्दै थपीथपी खायौं। खाँदै गर्दा डङ्गोल सरले यसक वानस्पतिक विवरण क्रमश पढाउँदै जानुभयो। बाँको वनस्पति जगत अन्तर्गतको Araceae परिवारमा पर्ने विरूवा हो। खासगरी नेपाल, भारत, म्यानमार, चीन लगायतका देशहरूमा पाइने यो वनस्पतिको वैज्ञानिक नाम Arisaema tortuosum (Wall.) Schott हो। यस्को फूल झट्ट हेर्दा गोमन सर्प जस्तो देखिने, फल पनि मकैको घोगाजस्तै देखिने र यो बिरूवा उम्रिने वरपर सर्पको वाससमेत हुने विश्वास राखिएको हुँदा यो विरूवालाई सर्पको मकै भनेर चिनिन्छ। अंग्रेजीमा यसलाई Whipcord Cobra lily भनिन्छ।
सर्पको मकै भन्ने नामकै कारण पनि मेरो बाल्यकालमा यसप्रति मभित्र एक किसिमको डरको भावना भएको स्मरण गरें। यसको मकै खाँदा मुख पोल्ने,कोक्काउने र जिब्रो सुनिने सम्भावित डरले म सकभर यसबाट टाढा नै हुने प्रयास गर्दथें। यस्को बोट वरपर पुग्दा पनि सर्प आउँछ कि भन्ने खालको डर लागिरहन्थ्यो।
यो चिलाउने र कोक्याउने प्रकृतिको भएकोले जैविक विषादी बनाउनको लागि प्रयोग गरिन्छ भन्नेसम्म केही वर्ष अघिमात्र मैले जानकारी पाएको थिएँ। पौष्टिकताको दृष्टिले यस्लाई विभिन्न परिकार बनाएर खाने गरिन्छ भन्ने त अनुमानसमेत पनि थिएन। क्याल्सियम, आइरन र भिटामिन सी को राम्रो स्रोत भएर पनि पर्याप्त जानकारीको अभावमा बाँको हाम्रो गाउँघरमा त्यसै खेर गइरहेको छ। परम्परागत औषधोपचारमा पनि बाँकोको प्रयोग गरिंदो रहेछ। आम्ची, वैद्य, धामीहरूले बाँकोको कोक्याउने र टट्टाउने स्वभावलाई समन वा दमन गरेर आमबात, बिग्रेको मासिक धर्म, पेटको जुका फाल्ने आदि काममा प्रयोग गर्ने गर्छन्। बाँकोलाई बगैंचामा हुर्काउने वा खेतीगर्ने हाम्रो चलन अहिलेसम्म नभएपनि यस्को व्यावसायिक उत्पादन गरी उपभोग गर्न सके खाद्य सङ्कट र कुपोषणको समस्या समाधान गर्न सहयोग पुग्ने हुँदा व्यावसायिक खेतीको सम्भाव्यता भने टड्कारो छ।