PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

बिल डबल ब्ल्याकको स्वाद भोड्काको, पारखीले थाहा पाएपछि खुल्यो नक्कली रक्सीको कारोबार



पहिलोपोस्ट

बिल डबल ब्ल्याकको स्वाद भोड्काको, पारखीले थाहा पाएपछि खुल्यो नक्कली रक्सीको कारोबार

काठमाडौं: जिल्ला प्रहरी कार्यालय काठमाडौंको टोलीले नक्कली रक्सीको उत्पादन, वितरण र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ। प्रहरी टोलीले कोटेश्वर र भक्तपुरबाट गरेर कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको हो।

उनीहरूले डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायत ब्रान्डेड मदिराको बोटलमा उनीहरूले सस्तो मदिरा राखेर बिक्री गर्ने गरेका खुलेको छ।

काठमाडौँको कोटेश्वर र भक्तपुरको ढुवाकोटबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिकाका हरि ओली र भीमेश्वर नगरपालिकाका भगवान बस्नेत छन्। यस्तै, कालिन्चोककै विशाल ओली, काठमाडौं मूलपानी बस्ने मनोज ओली र ठमेल बस्ने गोपी श्रेष्ठ रहेका छन्।

विशेष सूचनाको आधारमा प्रहरीले कोटेश्वरबाट हरि ओलीलाई पक्राउ गरेको थियो। उनको डेराबाट चार कार्टुन नक्कली रक्सी बरामद भएको थियो। त्यसपछि अनुसन्धानको क्रममा भक्तपुरको चाँगुनारायणमा रक्सीको उत्पादन गर्ने भगवान बस्नेतसहित अन्यलाई पक्राउ गरेको हो।

भदौ ७ गते पक्राउ परेका उनीहरूविरुद्ध कालोबजारी गरेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँ जिल्लाका प्रहरी प्रमुख एसएसपी भरत बोहोराले बताए।

पक्राउ पर्नेहरूले ब्रान्डेड मदिराको बोटलमा सस्तो मदिरा मिसाएर बिक्री गर्ने गरेको खुलेको छ। यस्ता मदिरा नाइट क्लब, रेस्टुराँ र दोहोरी साँझमा पुर्‍याइने गरिएको पाइएको छ। ब्रान्डेड मदिरालाई बजारमा चलेको भन्दा सस्तो मूल्यमा उनीहरूले बिक्री गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराले बताए। यसरी पुगेको रक्सी क्लबमा ग्राहकले खाएर स्वाद थाहा पाएपछि घटना प्रहरीसँग पुगेको थियो।

‘एक जना पारखीले ठ्याक्कै स्वाद पहिचान गरेछ। त्यसपछि विस्तारै घटनाको बिकास हुँदै जाँदा यहाँसम्म पुगेको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नक्कली रक्सीको कारोबार विगत ६ महिनादेखि गरेको खुलेको छ। उनीहरूले महङ्गो र सस्तो रक्सी बजारबाट किन्ने त्यसपछि सस्तो रक्सीमा थोरै मात्रमा महङ्गो रक्सी मिसाएर बिक्री गर्ने गरेको एसएसपी बोहोराले बताए।

उनीहरूले महङ्गो रक्सीको बिर्को सावधानीपूर्वक खोलेर अन्य रक्सी र केमिकल मिसाउने गरेका थिए। प्रहरीले यस्तो रक्सीमा मिसाउने कच्चापदार्थ समेत बरामद गरेको छ। त्यो बरामद कच्चा पदार्थमा कुन-कुन केमिकल थिए भन्ने कुराको अनुसन्धान भइरहेको एसएसपी बोहोराले बताए।

नक्कली रक्सीलाई सक्कलीझैं देखाउन उनीहरू आन्तरिक राजस्व विभागको स्टिकर समेत प्रयोग गर्ने गरेका थिए। जसको लागि केही सस्तो रक्सीका बोतलको स्टिकर पनि प्रयोग गरेको भेटिएको छ। प्रहरीले उनीहरूको कारखानाबाट आन्तरिक राजस्व कार्यालयको स्टिकर समेत बरामद गरेको छ।

‘उनीहरूलाई आज चार कार्टुन रक्सीको अर्डर दियो भने दुई दिनपछि मात्र अर्डर दिने गरेका थिए। अर्डर लिएपछि रक्सी बनाउन थाल्ने गर्थे,’ एक प्रहरी अधिकृतले भने।

उनीहरूले बनाएको रक्सी डान्स क्लब, दोहोरी साँझ, रेस्टुरेन्टलगायतमा बिक्री गर्ने गरेका थिए। ८ हजार पर्नेलाई मदिरालाई 'स्टक क्लियरेन्स' गर्ने भन्दै ७ हजारमा बिक्री गर्ने गरेको खुलेको छ।

सरकारले विदेशी मुद्रा सञ्चितीमा दबाब परेपछि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको छ। यही प्रतिबन्धको फाइदा उठाउँदै विभिन्न समूहले नक्कली मदिरा उत्पादन गरेर बेच्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell