काठमाडौंः नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा आलीद्वारा पेश भएको राजनीतिक प्रतिवेदनमा छलफल गर्न दश समूह बनाएको छ।
शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमा छलफल गर्न समिति बनाइएको हो। बैठक शनिकार पनि जारी रहने छ।
निर्णय अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग गरी दश समूह गठन गरिएको हो।समूहगत छलफल आजैदेखि सुरु भएको छ।
यस्तै, बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माणका लागि स्थायी कमिटी सदस्य खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ। जसमा राजन भट्राई, रमेश बडाल र हरि घिमिरे सदस्य रहेका छन्। त्यस्तै प्रतिष्ठान सञ्चालन कार्यविधि निर्माणका लागि पनि अधिकारीकै संयोजकत्वमा कार्यदल बनेको छ। कार्यदलमा सीता गिरी र रमेश बडाल सदस्य रहेका छन्।
बैठकले केन्द्रीय कमिटीमा मनोनीतलाई जिम्मेवारी तोकेको छ। जसमा धर्मदत्त देवकोटालाई वाग्मतीको सहईञ्चार्ज, जीवन गौतमलाई लुम्बिनी प्रदेशको सहईञ्चार्ज, बृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहईञ्चार्ज र अमृत राजवंशीलाई झापा जिल्ला सहईञ्चार्ज तोकिएको छ।
बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल, केन्द्रीय निर्वाचन परिचालन कमिटी, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय सदस्यहरुमा मनोनयन, केन्द्रीय विभागका सचिवहरुको मनोनयनलगायत सचिवालयबाट गरिएका निर्णय अनुमोदन गरेको छ।