PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र



रमेश पराजुली

एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवलः बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो।

बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजना प्रमुख धमेन्द्र पन्थीका अनुसार साढे ९ बिघा क्षेत्रफलमा बनेको सम्मेलन केन्द्रमा एउटा मुख्य हल र अन्य १२ वटा साना हल छन्।

सम्मेलन केन्द संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोड रूपैयाँको लागतमा बनाएको हो। आयोजना प्रमुख पन्थीका अनुसार भर्खर निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रमा एउटा ठूलो हल १ हजार १ सय क्षमताको छ। अन्य ५० देखि ५५० सिट क्षमताका १२ वटा साना ठूला हलहरू रहेका छन्। सम्मेलन केन्द्रका सबै हल वातावरण अनकूलका छन्।

२०७१ साल माघबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो। भूकम्प र नाकाबन्दीसँगै नदीजन्य पद्धार्थको अभाव र रुख कटानमा ढिलाइ हुँदा आयोजनाको दोस्रो चरणको काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो।

तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको आयोजना प्रमुख पन्थीले बताए। आकाशबाट हेर्दा नेपालको झण्डा आकारमा बनेको सम्मेलन केन्द्र काठमाडौं बाहिरकै ठूलो हो।

सम्मेलन केन्द्रको पहिलो चरणको कामलाई २३ करोड र दोस्रो चरणको कामलाई ८० करोड गरी एक अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो। पहिलो चरण अन्तर्गत मुख्य सभाहल रहेको भवनको काम भएको हो। त्योसँगै ब्लकमा भएका दुईवटा भवन बनेका छन्। सभाहलमा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल छ। त्यसैगरी ५०-५० र १-१ सय क्षमताका दुइटा लेक्चर हल, ५ सय क्षमताका ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।

दोस्रो फेजमा चन्द्रमा आकारको संरचना निर्माण भएको हो। आयोजनाका इन्जिनियर सुमन दलार्मीले दोस्रो चरण अन्तर्गत रंगरोहनको काम र फिनिसिङका साथै विद्युतका लागि ट्रान्सफर्मर जडान गरिएको बताए।

सभाहलसँगै सटेर नर्थ र साउथ गरी दुई वटा बहुउद्देश्यीय भवन बनेका छन्। यी १ सय क्षमताका छन्। त्यसबाहेक दोस्रो २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रिनहाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वाटरका लागिसमेत भवन निर्माण गरिएको छ। सभाहलमा लिफ्टको समेत व्यवस्था छ।

अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पाङ्ग्रे र ४ सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ। त्यस्तै बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी र प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट बनेका छन्। जसमध्ये एउटा भीआईपी गेट छ। प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ। विद्युतका लागि ६ सय ३० केभीए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ।

एमालेको आठौं महाधिवेशनका बेला बुटवलमा स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि यसको परिकल्पना गरेर योजना अघि बढाएको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए। उनि यस क्षेत्रका सांसद समेत हुन्। सम्मेलन केन्द्र बनेपछि बाहिर कार्यक्रम गर्ने झन्झट हटेको उनले बताए।

सम्मेलन केन्द्र तयार भए पनि संघ, प्रदेश र स्थानीय तह कसले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयको टुंगो लागेको छैन। आयोजनाका अनुसार सम्मेलन केन्द्रको मासिक खर्च न्यूनतम ३ करोड रुपैयाँ आउँछ। त्यसैले अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्ने मोडालिटीबारे तीन तहकै सरकारबीच गहन छलफल गरी स्पष्ट योजना बनाउन आवश्यक रहेको आयोजना प्रमुख पन्थीले बताए।

यसअघि सहमति भए अनुसार बुटवल उपमहानगरपालिकालाई नै हस्तान्तरण गर्ने या अन्य कुनै समितिमार्फत सञ्चालन गर्ने भन्नेबारे सरकारले नै निर्णय गर्ने उनको भनाई छ। बुटवल प्रदेश राजधानी हुने अनुमान गरी सम्मेलन केन्द्र बनाउने काम सुरु भएको थियो। तर, प्रदेश राजधानी दाङको भालुवाङ (राप्ती उपत्यका) तोकिएकाले मानिसहरुको चहलपहल बुटवलमा कम हुनसक्ने भएकाले सञ्चानमा चुनौती हुने बताइएको छ।

सम्मेलन केन्द्रसँगैको ६ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ। प्रर्दशनी केन्द्र एक अर्ब २ करोड लागतमा निर्माण भइरहेको छ। आयोजना प्रमुख पन्थीका अनुसार प्रदर्शनी केन्द्रको हालसम्म ६१ प्रतिशत भौतिक प्रगति भएको छ। ट्रष्टको काम भए पनि केही सामानहरु बाहिरबाट ल्याउनु परेकाले ढिलाइ भइरहेको उनले बताए।

यसअघि यहाँ रुपन्देहीका संघसंस्थाहरुले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै आएका थिए। तर, यो प्रदर्शनी केन्द्र निर्माण सम्पन्न हुँदा यहाँका उद्योगी व्यवसायीले जाडो, गर्मी, हिउँद, बर्षा जुनसुकै बेलामा मेला महोत्सव गर्न सक्नेछन। म्याद सकिएकाले आयोजनाले पुनः म्याद थप्ने तयारी गरेको छ। निर्माण र परीक्षणसमेत भइसकेको सम्मेलन केन्द्र छिटो सञ्चालनमा ल्याउन निजी क्षेत्रले माग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell