PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

'पखिना' अड्किएर गएछ घडियालको प्राण



पहिलोपोस्ट

'पखिना' अड्किएर गएछ घडियालको प्राण
क्याट फिस बाहेकका अन्य प्रजातिका माछाहरुको हकमा भने तश्विरमा देखाएजस्तै गरेर घडियालले टाउकोबाट निल्न शुरु गर्दछ।

  • बेदवहादुर खड्का-

माछाको पखेंटा अड्किएर गोहीको प्राण जान्छ भन्ने कुरा सुन्दा/देख्दा जो कोहिलाई पनि पत्यार नलाग्न सक्छ। घट्ना त्यस्तै २०५१ साल कात्तिक अन्तिमतिरको हो। म त्यसबेला कोशीटप्पु वन्यजन्तु आरक्षमा रेञ्जर पदमा कार्यरत थिएँ। आरक्षभित्र पाइने चराचुरङ्गी, जलचर र अन्य विविध वन्यजन्तुहरुको अध्ययन् गर्नु मेरो कर्म र धर्म थियो। त्यसै शिलशिलामा आरक्ष क्षेत्रको मधुवन क्षेत्र नजिक कोशी किनारमा हिँड्दै गर्दा पानीको छालसँगै स्वच्छ, सफा र चम्किलो नदी किनारको बगरमा एउटा घडियाल घाम तापेर बसिरहको देखें। यो दृश्य देखेर मेरो मनै फुरुङ्ग भयो। दुरविन निकालेर हेर्दै घडियाल विश्राम गरेको बगरतिर उत्सुकताका साथ अगाडि बढेँ। तर विडम्वना त्यो विश्राम गरिरहेको ठानेको घडियाल चटपट गरेजस्तो लागेन। सामान्यतया घडियालहरु नदि तटमा घाम ताप्न बस्दछन र नजिकै कुनै मानिस देख्ने बितिक्कै झटपट् पानीमा पसिहाल्दछन। तर त्यो घडियाल त्यस दिन नदीभित्र गएन। मलाई त अचम्म लाग्न थाल्यो किनकि उ बसेको नजिकै पुग्दा पनि हलचल नै गरेन। मेरो मनमा शंका उब्जियो, पक्कै पनि घडियाल मरेको हुनुपर्छ! नभन्दै त्यो घडियाल मरिसकेको रहेछ।

मृतः घडियाल हेर्दा फूर्तिलो, चिल्लो र स्वस्थ्य देखिन्थ्यो। शरिरको बहिरी भागमा कुनै चोटपटक पनि थिएन। तर त्यस गोहीलाई चिरफार गरेर हेर्दा घाँटीमा काँडा (टाउको पछाडिको पखेटा) कान नजिक घोपिएको रहेछ। काँटी/टेङ्गरी माछाका प्रजातिका कान र ढाड पछाडिको भागमा पखेंटाजस्तो आकारका तिखातिखा काँडा रहेको झिलहरु रहन्छन्। यि काँडाहरु सहितका झिलहरुले पानीमा पौडन र आवश्यक पर्दा शत्रुहरुलाई घोच्नसमेत सहयोग पुर्‍याउँछ। झट्ट हेर्दा पखेटाजस्तो देखिने तर छाम्दामात्र काँडा रहेको आभास पाईन्छ। काँटी माछा क्याटफिस प्रजातिमा पर्छ। क्याट फिस प्रजातिका माछाहरुको पखेटामा रहने काँडा मुखमा घोचिने डरले घडियालले तिनिहरुको टाउको फालेर अरु भागमात्र खान्छ। वोटे भाषामा माछाको पखेंटालाई 'पखिना' भनिन्छ। ढाड र कान पछाडिको पखिनाको काँटो (काँडा) तिखो र खतरनाक हुन्छ। त्यसैले घडियालले खानुभन्दा अगाडि नै माछाको टाउको ढाडबाट नै चुँडाएर फालीदिन्छ। हुन त अरु जातको माछाहरु टाउँकोबाटै घडियालले निल्न सुरु गर्दछ भने क्याट फिस जातको माछाको टाउको खाँदैन।


घडियालले काँटी माछाको टाउको छिनालेर फालेको।


कहिलेकाहीं घडियालले क्याट फिस खाने क्रममा दाँतले च्याप्प माछाको ढाडमा अठ्याउँछ र दायाँ–वायाँ आप्नो मुन्टो झट्कारेर माछाको टाउकोलाई घुयाँत्रो हानेजस्तै गरेर छुट्ट्याएर फालिदिन्छ र पछिल्तिरको बाँकी भागमात्र खान्छ। यस्तो गर्ने क्रममा कहिलेकांही माछाको टाउको पछाडिको पखेटाको काँडा शरीरको भागमै छोडिन्छ र  माछा निल्दा काँडा घडियालको घाँटीमा अड्केर मर्न सक्ने सम्भावना रहन्छ। यो घडियाल पनि त्यसै भएर मरेको थियो।

आरक्षको नदीमा घरियाल गोहीको उपस्थिति देख्न पाउँदा अत्यन्त हर्षित थिएँ तर आहारा ग्रहण गर्ने क्रममा घडियालले मृत्यू वरण गर्न पुगेछ। यो घडियालको मृत्यू हुनमा मानवीय त्रुटिहरुको कुनै भूमिका नरहेको र प्राकृतिक तर अनौठो दुर्घटना देखिएकाले यहाँ ब्याख्या गर्ने विचार गर्दै चित्त बुझाउँदै कार्यालयतिर फर्किएँ। तर अनुभव बताउने मौका कति वर्षपछि आयो पाठक आँफैले हिसाब गरौं है।

-खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोही अध्ययन र संरक्षणमा चासो राख्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell