PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

तीजमा पशुपतिको मूल मन्दिर परिसरमा तस्विर खिचे जरिवाना गरिने, चारस्थानबाट प्रवेशको व्यवस्था



पहिलोपोस्ट

तीजमा पशुपतिको मूल मन्दिर परिसरमा तस्विर खिचे जरिवाना गरिने, चारस्थानबाट प्रवेशको व्यवस्था
फाइल फोटो

काठमाडौं : हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ।

हाल पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ। पछिल्लो समय तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो।

गर्भगृहको तस्बिर खिचेमा दुई हजार एकसय रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रुपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रुपैयाँ जरिवाना गर्न लागिएको हो। पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले दिनुभयो।

कोषले तीजका दिन यही भदौ १४ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ। पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ।

यस्तो छ अन्य तयारी

तीजका वर्तालुलाई चार स्थानबाट प्रवेश गराइने कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गरिने भएको छ। कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरि राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइएको छ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ। यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ। तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको छ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरि व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरि व्यवस्था गरिएको छ। यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ। यस्तै, तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ। यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ।

चौथो लाम गुह्येश्वरी-उमाकुण्ड-कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश हुनेछ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ। यहाँ भक्तजनको जत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब उपरीक्षक रवि थपलियाले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चारै वटा सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा विश्लेषण गरी तीज पर्वका अवसरमा शान्ति सुरक्षा दिने तयारी गरिएको जानकारी दिए। सो अवसरमा काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगतले स्थानीयवासीलाई नागरिकता प्रमाण पत्रका आधारमा हिँडडुल गर्न दिइनुपर्ने माग गरेका थिए। स्थानीयवासीले मेला व्यवस्थापनमा सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell