बुटवल : बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको केन्द्रको उद्घाटन गरेका हुन्।
२०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो।
आयोजना प्रमुख धमेन्द्र पन्थीका अनुसार साढे ९ बिघा क्षेत्रफलमा बनेको सम्मेलन केन्द्रमा एउटा मुख्य हल र अन्य १२ वटा साना हल छन्।
सम्मेलन केन्द संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोड रूपैयाँको लागतमा बनाएको हो। आयोजना प्रमुख पन्थीका अनुसार भर्खर निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रमा एउटा ठूलो हल १ हजार १ सय क्षमताको छ। अन्य ५० देखि ५५० सिट क्षमताका १२ वटा साना ठूला हलहरू रहेका छन्। सम्मेलन केन्द्रका सबै हल वातावरण अनकूलका छन्।
२०७१ साल माघबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो। भूकम्प र नाकाबन्दीसँगै नदीजन्य पद्धार्थको अभाव र रुख कटानमा ढिलाइ हुँदा आयोजनाको दोस्रो चरणको काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो।
तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको आयोजना प्रमुख पन्थीले बताए। आकाशबाट हेर्दा नेपालको झण्डा आकारमा बनेको सम्मेलन केन्द्र काठमाडौं बाहिरकै ठूलो हो।
सम्मेलन केन्द्रको पहिलो चरणको कामलाई २३ करोड र दोस्रो चरणको कामलाई ८० करोड गरी एक अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो। पहिलो चरण अन्तर्गत मुख्य सभाहल रहेको भवनको काम भएको हो। त्योसँगै ब्लकमा भएका दुईवटा भवन बनेका छन्। सभाहलमा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल छ। त्यसैगरी ५०-५० र १-१ सय क्षमताका दुइटा लेक्चर हल, ५ सय क्षमताका ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।
दोस्रो फेजमा चन्द्रमा आकारको संरचना निर्माण भएको हो। आयोजनाका इन्जिनियर सुमन दलार्मीले दोस्रो चरण अन्तर्गत रंगरोहनको काम र फिनिसिङका साथै विद्युतका लागि ट्रान्सफर्मर जडान गरिएको बताए।
सभाहलसँगै सटेर नर्थ र साउथ गरी दुई वटा बहुउद्देश्यीय भवन बनेका छन्। यी १ सय क्षमताका छन्। त्यसबाहेक दोस्रो २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रिनहाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वाटरका लागिसमेत भवन निर्माण गरिएको छ। सभाहलमा लिफ्टको समेत व्यवस्था छ।
अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पाङ्ग्रे र ४ सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ। त्यस्तै बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी र प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट बनेका छन्। जसमध्ये एउटा भीआईपी गेट छ। प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ। विद्युतका लागि ६ सय ३० केभीए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ।