PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पहाडमा पूर्वाधार नबन्दा बसाइँसराइ नरोकिएको प्रधानमन्त्री देउवाको भनाइ, दाङ र सिद्धबाबामा सुरुङ मार्गको काम यही वर्ष सुरु हुने



रमेश पराजुली

पहाडमा पूर्वाधार नबन्दा बसाइँसराइ नरोकिएको प्रधानमन्त्री देउवाको भनाइ, दाङ र सिद्धबाबामा सुरुङ मार्गको काम यही वर्ष सुरु हुने
तस्विर : रासस

बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले पहाडमा आवश्यक शहरी पूर्वाधार नबन्दा बसाइँसराइ रोक्न नसकिएको बताएका छन्। शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अनियन्त्रित बसाइँसराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए।

नेपालका अधिकांश शहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको उल्लेख गर्दै देउवाले अव्यवस्थित शहरका कारण स्वास्थ्य, विपद् लगायत सामाजिक विकृतिहरु निम्तिएको बताए। सुन्दर, स्वच्छ शहर अहिलेको आवश्यकता भएकामा जोड दिँदै उनले शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुको विकल्प नभएको बताए।

देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै सम्मेलन केन्द्र संचालनका लागि सरकारले छिट्टै मोडालिटी तयार गर्ने बताए। हिमाली र पहाडी जिल्लामा सघन शहरी विकास गर्न आवश्यक रहेको भन्दै उनले नयाँ शहरी नीति कार्यान्वयन गरिने बताए। उनले शहर व्यवस्थित भए आर्थिक गतिविधि बढ्ने भएकाले विकास र अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने समेत बताए।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाणले चालू आर्थिक वर्षभित्रै दाङ र सिद्धबाबामा सुरुङ मार्गको काम सुरु हुने जानकारी दिए। यसबाट यातायातलाई सहज एवं सुरक्षित बनाउन मद्दत मिल्ने उनको भनाइ  । उनले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण हुने र नागरिक विस्थापित नहुने गरी औधोगिक क्षेत्र बन्नेमा सरकार लागि परेको पनि बताए। क्षेत्रफल घटाएर भए पनि नागरिकलाई विस्थापित नगरिने गृहमन्त्री खाणको भनाइ थियो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशमा केही महत्वपुर्ण र गौरवका आयोजनाहरु अगाडि सारिएको बताउँदै लुम्बिनीको विकासका लागि तीन तहकै सरकारबिच समन्वय आवश्यक रहेको बताए। प्रदेश राजधानी निर्माणका लागि आवश्यक बजेट अभाव भएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले सरकारले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताए।

त्यस्तै पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आयोजना सम्पन्न भए पनि यसको संचालन कसरी हुन्छ भन्ने कुरा महत्वपुर्ण भएको बताईन्।

‘आयोजना सम्पन्न भयो तर, यसको संचालन कसरी हुन्छ नागरिकले कसरी लाभ लिन्छन? यसको निजी क्षेत्रले कसरी प्रयोग गर्न सक्छ त्यसले यसको दीगो पनमा प्रभाव पार्छ?’ उनले भनिन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सबैको पहलमा बुटवल मण्डपको जग्गा प्राप्ती भएको बताउँदै पुर्वाधार तयार भई सकेको संरचना संचालनका लागि बुटवल उपमहानगर तयार रहेको बताए।

बुटवल उपमहानगरपालिका–८ स्थित बुटवल मण्डपमा साढे ९ बिगाहा क्षेत्रफलमा बनेको सम्मेलन केन्द्रमा एउटा मुख्य हल र अन्य १२ वटा साना हल छन्। एक हजार १ सय क्षमताको एउटा ठूलो हल र अन्य ५० देखि ५५० सिट क्षमताका १२ वटा साना-ठूला हलहरू रहेका छन्। संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोड रूपैयाँ लागतमा बनाएको सम्मेलन केन्द्रका सबै हलहरु वातावरणकूलित हुन्।

सम्मेलन केन्द्र तयार भएपछि अब बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलनहरू गर्न सहज हुने भएको छ। यहाँ चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell