PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमालेलाई आफ्नो भरभन्दा गठबन्धनको डर ज्यादा, ओली कसरी बन्छन् फेरि प्रधानमन्त्री?



प्रकाश भण्डारी

एमालेलाई आफ्नो भरभन्दा गठबन्धनको डर ज्यादा, ओली कसरी बन्छन् फेरि प्रधानमन्त्री?

काठमाडौं: नेकपा (एमाले) मा सत्ता गठबन्धनको डर देखिएको छ। भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले गठबन्धनसँग एमाले एक्लै चुनावमा जाँदा क्षति बढी हुने बताएका हुन्। स्थानीय तह निर्वाचनमा पनि गठबन्धनका कारण क्षति भएको विश्लेषण गरेको एमालेले प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा पनि उक्त क्षतिलाई रोक्न कठिने हुने विश्लेषण गरेको छ।

स्थानीय तहको निर्वाचनमा पार्टीले ३४ प्रतिशत मत पाएको र अब बहुमतका लागि १६ प्रतिशत मत थप्नुपर्ने एमालेको निचोड छ। त्यसका लागि गठबन्धन बाधक हुने एमालेका नेताहरू बत्ताउँछन्। २०७४ को स्थानीय तहको निर्वाचनमा २९४ सिट जितेकोमा २०७९ को चुनावमा २०६ सिटमा सीमित भएको छ। तर,एमालेले लोकप्रिय मतमा भने आफूलाई पहिलो पार्टी भएको दाबी गर्दै आएको छ। गठबन्धनले षड्यन्त्रका बाबजुद पनि २०६ सिट जित्नु र लोकप्रिय मत पाउनु उपलब्धि भएको ओलीको राजनीतिक प्रतिवेदनमा दाबी गरिएको छ। निर्वाचन आयोगको आधिकारिक नतिजाले भने ओलीको जिकिरलाई सात दिएको छैन।

बन्लान् ओली फेरि प्रधानमन्त्री?

पाँच दलीय सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने एमालेले बत्ताइरहँदा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा भने राजनीतिक धुव्रीकरणको आवश्यकता औँल्याइएको छ। अरू पार्टीबाट बढीभन्दा बढी नेता कार्यकर्ता प्रवेश गराएर पार्टी विभाजन भएको क्षतिपूर्ति गर्ने पक्षमा एमाले छ।

‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट प्रवेश गराउने नीति लिने,’ओलीको राजनीति प्रतिवेदनमा भनिएको छ।

यसरी पार्टीमा प्रवेश गराएमा एमालेको पक्षमा मत आउने ओलीको विश्लेषण छ। गठबन्धन भए पनि आफ्नो पार्टीलाई बहुतका लागि चाहिने मत भने गठबन्धनबाट असन्तुष्ट हुने नेता कार्यकर्ताबाट पूर्ति गर्ने एमालेको रणनीति छ।

‘मुलुकको राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको छः अग्रगमन वा यथास्थिति? राष्ट्रिय स्वाभिमान वा आत्मसमर्पण? समृद्धि वा अधोगति? सबल नेतृत्व वा भागबन्डाको राजनीति? निर्वाचनको संघारमा उभिएको बेलामा यस्ता गहन र दीर्घकालीन विषयमा गम्भीर बहस र निर्णय हुन अत्यन्त आवश्यक छ। यसका लागि राष्ट्रियता, लोकतन्त्र र समाजवाद पक्षधर व्यक्ति तथा शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता टड्कारो भएको छ, ’एमालेको निर्णयमा उल्लेख छ।

ओलीले पार्टीमा अन्तर्घात बढेको स्वीकारेका छन्। असमझदारी हटाएमा जित हुने प्रतिवेदनमा उल्लेख छ। प्रधानमन्त्रीका रूपमा एमालेले अघि सारेका अध्यक्ष ओलीलाई पार्टी भित्रकै असन्तुष्टि भने मिलाउन स्थानीय तहमा पनि सकस भएको थियो। उक्त सकस आउने निर्वाचनमा पनि हुन सक्ने भएकाले त्यसलाई अहिलेदेखिनै हटाउन ओलीले बैठकमा निर्देशन दिएका थिए।

गठबन्धनसँग मनोवैज्ञानिक डर

एमालेले आफ्नो चुनाव पराजयको अर्को कारण मनोवैज्ञानिक डर पनि भएको बताएको छ। गठबन्धनसँग मनोवैज्ञानिक डरमा नेता कार्यकर्ता रहँदा चुनावमा अपेक्षित नतिजा नआएको भन्दै गठबन्धनको प्रतिवादका लागि एमाले तयार रहन ओलीले निर्देशन दिएका थिए। कमजोर प्रचारशैली र लोकप्रिय नाराहरू दिएर घर घरमा पुग्न नसक्दा पनि गठबन्धनसँग पराजित हुनुपरेको एमालेको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा मनोवैज्ञानिक डर देखिएको एमालेले निचोड निकालेको छ। आउने चुनावमा गठबन्धनको संख्यासँग नडराउन ओलीले नेताहरूलाई बैठकमा ब्रिफिङ गरे। एमालेले चुनाव जित्नका लागि गठबन्धनका नराम्रा कामको प्रहार गर्ने र ओली नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्ने नीति लिएको छ। चुनावमा बढी भन्दा बढी एमाले सरकारको कामको प्रचार गरे मात्रै चुनाव जित्न सकिने आकलन एमालेको छ। निर्वाचन आयोग र कर्मचारी तन्त्रलाई उपयोग गर्नुपर्ने एमालेले निचोड निकालेको छ।

जित्नै पर्ने दबाब

एमालेले उम्मेदवार छनोटका लागि लोकप्रियता र जित्ने सुनिश्चितता भएकालाई उम्मेदवार बनाउने छ। समानुपातिकलाई नदोर्‍याउने र स्थानीय तहमा पराजतिलाई उम्मेदवार नबनाउने एमालेको मापदण्ड छ। आलोपालो प्रणाली अनुसार उम्मेदवार बनाइनुपर्ने एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

‘उम्मेदवारको छनोट मापदण्ड पार्टी नीतिप्रति प्रतिबद्धता, पार्टीमा निष्ठा र योगदान, लोकप्रियता र विजयको सुनिश्चितता, सन्तुलन र समावेशीता,’ गुरुङले भने।

भदौ २२ गते सम्म उम्मेदवार तय गरिसक्नुपर्ने एमालेको निर्णयमा उल्लेख छ। तल्ला कमिटीले गरेको निर्णयलाई हेरफेर गर्ने अधिकार सचिवालयलाई दिइएको छ। एमालेले चुनाव जित्नका लागि २ भोट थप्ने र ५ भोट जोगाउने नीति लिएको छ।

निर्वाचन आयोगमाथि शंका

एमालेले सत्ता गठबन्धनमाथि मात्रै नभई निर्वाचन आयोगप्रति पनि आक्रोश व्यक्त गरिरहेको छ। स्थानीय तहको निर्वाचनका बेलामा पनि एमालेले आयोगले सरकारको इसारामा काम गरेको आरोप लगाएको थियो।

‘आफ्नो स्पष्ट संवैधानिक भूमिका निर्वाह गर्नबाट निर्वाचन आयोग चुक्दा सुरुदेखिनै समग्र निर्वाचन प्रक्रिया कमजोर हुन्छ। विगतका कतिपय सन्दर्भहरूमा निर्वाचन आयोगको भूमिका आफ्नो दायित्व अनुकूल नभएको अनुभव छ,’ एमालेले भनेको छ।

सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेर चुनावमा धाँधली गरेर स्थानीय तहको चुनावमा जितेको र आउने चुनावमा पनि त्यस्तै हुन सक्ने भएकाले चनाखो रहन केन्द्रीय सदस्यलाई ओलीले निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell