PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पर्यटकीय सिजन शुरु भएसँग बढ्न थाल्यो 'बुकिङ' : प्रचार नभएकोप्रति भने व्यवसायी चिन्तित



वसन्तराज उप्रेती

पर्यटकीय सिजन शुरु भएसँग बढ्न थाल्यो 'बुकिङ' : प्रचार नभएकोप्रति भने व्यवसायी चिन्तित
फोटो : Ramesh Tamang

काठमाडौं : पर्यटक सिजनको आगमनसँगै यतिखेर नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकको माग विस्तारै बढ्न थालेको छ। कोरोनाका कारण दुई वर्षदेखि भ्रमण गर्नबाट वञ्चित भएका विदेशी पर्यटकले नेपाल घुम्ने तयारी गरेको व्यवसायीले जनाएका छन्।

यतिखेर युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न मुलुकका पर्यटकले नेपालमा सञ्चालित विभिन्न ट्राभल एजेन्सी, पाँचतारे होटल, हेलिकोप्टर कम्पनीमार्फत आफ्नो भ्रमण प्याकेज तयारी गरेको व्यवसायीहरुले बताएका हुन्।

होटल उद्योगका लागि आउँदो सिजनमा देखिएको अग्रिम बुकिङ उल्लेख्य रहे पनि भविष्यमा त्यसको ग्यारेन्टी निश्चित नरहेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए। 'पर्यटन व्यापारका लागि प्रसिद्ध देशहरुले आफ्नो नाका खोलेर पर्यटक तान्न अनेक उपाय लगाइरहेका छन्। नेपालले पर्यटक लक्षित आकर्षक योजना ल्याउन आवश्यक छ,' उनले भने।

समग्र नेपालको छविलाई आकर्षक पार्ने किसिमको प्रचारप्रसारलाई अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्दै शाहले भने, 'लाइफटाइम एक्सपेरियन्स अन्तर्गतको सेवालाई विस्तार गर्न आवश्यक छ। पैसा भएका पर्यटकलाई कसरी आकर्षक गर्ने त्यसमा ध्यान दिन आवश्यक छ। यहाँ आएपछि बाँचुन्जेल सम्झिने खालको अनुभव सम्भव छ। तर प्रचार नै छैन।'

पर्यटकका लागि स-साना सुविधा, परिवेशले अर्थ राख्ने भएका कारण सरकारको तवरबाट सूक्ष्मरूपमा ख्याल राख्न आवश्यक रहेको उनको भनाइ छ।

दुई वर्ष अघिको तुलनामा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकबाट अग्रिम बुकिङ आइरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोलाले बताए। आउँदो सिजनका लागि विदेशी पर्यटकबाट आइरहेको अग्रिम बुकिङ ६० प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए।

कोरोना महामारीले शिथिल मुलुकको पर्यटन उद्योग पुनरुत्थान भएर लयमा आउन भने अझै समय लाग्ने बास्तोलाले बताए। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै लागि राज्यका तर्फबाट आकर्षक योजना कार्यन्वयनमा आउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, 'सन् २०१९ ताका पर्यटन क्षेत्रमा निकै सुधार थियो। अहिले कोरोनाकाल जस्तो पनि छैन। विस्तारै लयमा फर्किएको छ। अब राज्यसँगै नेपाल वायुसेवा निगमको उडान सेवा विस्तार हुन आवश्यक छ।'

यतिखेर युरोप, अमेरिका, सिंगापुर, मलेसिया लगायत विभिन्न मुलुकका पर्यटकले ट्रेकिङका लागि अग्रिम बुकिङ गर्दै आएको उनले जानकारी दिए। नेपाल भ्रमणका लागि विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यका पर्यटकबाट माग र अग्रिम बुकिङ आइरहेको छ। तर नेपाल उडानका लागि निर्धारित अन्तर्राष्ट्रिय हवाई भाडादर अझैसम्म किफायती छैन। यसबारे पर्यटकको चासो देखिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले जनाएको छ।

तीन वर्ष अगाडिको तुलनामा यतिखेर नेपाल आउनका लागि हवाई भाडार न्युनतम ५० प्रतिशतदेखि शत प्रतिशत महंगो भएको संघका पूर्व उपाध्यक्ष विनयबहादुर बस्नेतले बताए। 'दुबई-काठमाडौं उडान भाडादर सरदर ४० हजार थियो, अहिले ८० हजार रुपैयाँ पुगिसकेको छ। युरोपको भाडादर नौ सय युरो थियो तर अहिले सस्तो १५ सय युरो निर्धारण भएको छ,' उनले भने, 'रुस र युक्रेन युद्धका कारण पनि महंगी बढ्नु स्वाभाविक हो।'

यो वर्ष गत जुन-जुलाईमा विदेशी पर्यटकको नेपाल आवागमन दर सन्तोषजनक देखिएको उनले बताए। वायुसेवा कम्पनीहरु पनि नेपाल जोड्ने हवाई भाडादर घटाउन इच्छुक देखिएका छैनन्।

आउँदो सिजनका लागि यात्रु माग उल्लेख्य आए पनि महँगो हवाई इन्धनका कारण भाडा घटाउन नसकिने संकेत नेपाल नियमित उडान गर्दै आएका कतार, टर्कीस, इण्डीगो, एयर इण्डियन, भिस्तारा, सिंगापुर, फ्लाइ दुबई लगायतका वायुसेवा कम्पनीको संकेत छ। विकल्प बन्न सक्ने भए पनि सरकारी कम्पनी नेपाल वायुसेवा निगम आफ्नै समस्यामा छ। यसले जहाज र गन्तव्य थप्न सकेको छैन।

यो वर्ष कोभिड संक्रमण नियन्त्रणमा आएसँगै सन् २०१९ को अनुपातमा ५० प्रतिशत विदेशी पर्यटकको आगमन हुने कोरा टुर्स एण्ड ट्राभलका सञ्चालक विजय अमात्यले बताए। 'कोभिडले दुई वर्षदेखि घुमघाम गर्न चाहेर पनि रोकिएका हाइ इण्ड टुरिस्टका लागि नेपाल एउटा उपयुक्त गन्तव्य छ। अब रिभेन्ज ट्राभल सुरु भइसकेको छ,' उनले भने।

पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो व्यवसायिक उडान पुनः संचालन गर्न थालेसँगै यो सिजनबाट विदशी पर्यटकको चहलपहल वृद्धि हुने अमात्यले बताए। कोरामार्फत नर्वे, फिनल्याण्ड, बेनेलक्स क्षेत्र, बेलायत, अमेरिका लगायतका पर्यटकबाट उल्लेख्य बुकिङ आएको उनले बताए।

उनका अनुसार कोराले यी मुलुकबाट आउने पर्यटकको बसाईँ लागि द्वारिकाज, हायात, एलोफ्ट लगायत तारे होटल बुक गरिसकेको छ। यी पर्यटक चितवन, पोखरा, फाप्लु, जोमसोमलगायत गन्तव्य भ्रमणका लागि आउन लागेको उनले जानकारी दिए।

'अब पर्यटन उद्योगले पछाडि फर्किएर हेर्नुपर्दैन। सिजनको समय क्रमिकरुपमा विदेशी पर्यटकको आगमन झन् झन् वृद्धि हुँदै गएको छ। पुरानै लयमा नफर्किए पनि आउँदो वर्षमा पर्यटन उद्योग राम्रै सँग बुस्ट हुने देखिएको छ,' अमात्यले भने,'किनभने कोभिडयता अन्तर्राष्ट्रिय पर्यटकले शान्त र प्राकृतिक गन्तव्य भ्रमण गर्न रुचाउँदै आएका छन्। त्यो उपयुक्त गन्तव्य भनेकै नेपाल हो।'

अक्टोबरदेखि डिसेम्बरका लागि नेपाली होटलहरुले विभिन्न मुलुकका पर्यटकबाट उल्लेख्य रुपमा अग्रिम बुकिङ पाइरहेका छन्। होटल-रिसोर्टहरुले बुकिङ अनुसारको सेवा दिने तयारी पनि गरेका छन्।

'पहिला पहिला दुई महिना अगाडिदेखि अग्रिम बुकिङ आइरहेको हुन्थ्यो। तर अहिले छोटो समयमै उल्लेख्य बुकिङ आइरहेको अवस्था छ,' एभरेष्ट होटलका महाप्रबन्धक आशिष चलुले भने, 'अहिले भारत, बंगलादेश, स्पेन, अमेरिका, बेलायत लगायत देशका पर्यटकबाट बुकिङ हुँदै आएको छ।' उनका अनुसार अक्टोबरका लागिमात्र यी मुलुकबाट ४० प्रतिशत कोठा बुकिङ भइसकेको छ। चीनले आफ्नो सीमा क्षेत्र खुला गरेसँगै व्यवसायले थप गति लिनेमा उनी आशावादी छन्।

अक्टोबरदेखिका लागि होटलको बुकिङ उल्लेख्य रहेको अलोफ्ट होटलका महाप्रबन्धक विक्रम सिंहले बताए। नोभेम्बरका लागि मात्र होटलको अकुपेन्सी ७० प्रतिशत कायम हुने उनको भनाइ छ। अक्टोबर, नोभेम्बर र डिसेम्बरका लागि क्रमशः २५, ४० र ३० प्रतिशत अग्रिम बुकिङ भइसकेको उनले बताए।

आन्तरिक पर्यटकसँगै भारत, सिंगापुर, अमेरिका, चीन, बेलायत, बंगलादेश, अष्ट्रेलिया लगायत मुलुकका पर्यटकको बुकिङ आएको उनले जानकारी दिए। उनका अनुसार यी मुलुकबाट आउने पर्यटकले औसतमा तीन रात चार दिनका लागि रुम बुक गरिसकेका छन्। गत वर्षको तुलनामा रुम अकुपेन्सी दोब्बरले कायम भएको उल्लेख गर्दै उनले भने, 'गत वर्ष यही समय अकुपेन्सी ३५ प्रतिशत हुन्थ्यो तर अहिले ७० प्रतिशत कायम हुने देखिएको छ।'

टुरिस्ट सिजन सुरु हुन लागेसँगै हेलिकोप्टर उद्योगमा पनि बुकिङ आउन थालेको व्यवसायीले जनाएका छन्। यतिखेर विभिन्न मुलुकबाट आउने पर्यटकले चार्टर उडानका लागि बुकिङ गर्दैछन्।

यसैगरी आउँदो सिजनमा हवाई जहाजमार्फत माउन्टेन फ्लाइटसँगै विभिन्न गन्तब्यमा उडान गर्ने विदेशी पर्यटकको माग उल्लेख्य रहेको जनाएका छन्। अक्टोबरबाट विदेशी पर्यटकको अग्रिम बुकिङ उल्लेख्य रहेको यती र तारा एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 'लुक्ला ट्रेकिङ जाने विदेशी पर्यटकको माग उल्लेख्य छ। यसका लागि हामी रामेछाप बेस रहेर उडान गर्ने तयारीमा छौं,' उनले भने,'कोभिड संक्रमण नियन्त्रणमा आएसँगै सबै स्टल ओपरेशन गर्दै आएका वायुसेवा कम्पनीले जनाएका छन्।'

यो समय नयाँ पर्यटकीय क्रियाकलाप, सरसफाई र आकर्षक छुटको व्यवस्था लागू गर्न आवश्यक छ। तर राजधानी काठमाडौंकै फोहोर उठिरहेको छैन।

कोभिड नियन्त्रणमा आएयता नेपाल भित्रिने विदेशी पर्यटकको आगमन लगातार बढ्दै छ। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार पर्यटक आगमन संख्याका दृष्टिले नेपाली पर्यटन क्षेत्र कोभिडअघिको तुलनामा ७० प्रतिशत फर्किइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell