PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘लस्ट इन ट्रान्जिसन’पछि गौतमको आत्मकथा सार्वजनिक



पहिलोपोस्ट

‘लस्ट इन ट्रान्जिसन’पछि गौतमको आत्मकथा सार्वजनिक

काठमाडौं : राणाकालतिरै गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै बलबुताबाट राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहदासम्मको यात्रा तय गरे। त्यसअघि सत्तरीको दशकदेखि एक्काइसौँ शताब्दीको प्रारम्भसम्मै विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसंघीय निकायका प्रतिनिधि बनेर उनले त्यहाँका महिला तथा बाल अधिकार सम्बन्धि समस्याको समाधानमा जुट्ने अवसर पाए।

विश्वले चिनेका ठूला नेतादेखि लिएर राष्ट्र एवं सरकार प्रमुखहरुसँग टेबलमा बसेर वार्ता गरे। कतिपयसँग त तिनका घरमै पुगेर ‘चियर्स’ गरे।

उनी हुन्, कुलचन्द्र गौतम। नेपाली पात्रको निजी अनुभवलाई पछ्याएका पुस्तकहरु विरलै यो स्तरका वैश्विक घटनाहरुमा प्रवेश गर्छन्।

त्यस्ता, दुर्लभ अनुभवहरु समेटिएको ‘कुलचन्द्र गौतम : आत्मकथा’ अब पाठकहरु सामु प्रस्तुत भएको छ। यो पुस्तकलाई पब्लिकेशन नेपालयले तयार पारेको हो।

एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन। यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रिपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समेटिएको छ।

यसरी गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरुभएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप-कार्यकारी निर्देशकसम्म पुगेको छ।

यसअघि पनि पब्लिकेशन नेपालयबाटै अंग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ। प्रस्तुत पुस्तक ‘कुलचन्द्र गौतम : आत्मकथा’ भने लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो।

यो पुस्तक विश्व इतिहासलाई प्रभावित पारेका महत्वपूर्ण घटनाहरूमा पनि प्रवेश गरेको छ। गौतमले युनिसेफको जागिर सुरु गर्दा पहिलो जिम्मेवारी नै कम्बोडियाको राजधानी नोम्पेन्हबाट थालेका थिए।

त्यतिबेला ‘पूर्वको प्यारिस’ भनिने नोम्पेन्हमा एकातिर भर्खर बिहे गरेर श्रीमतीसहित पुगेका तन्नेरी गौतमको रोमान्स चलिरहेको हुन्छ भने अर्कोतिर मेकोङ नदीको पारीबाट लगातार विद्रोही खमेररुजले गरिरहेका बम प्रहार।

यस्तै, अवस्थाका बिच गौतमले काम गर्दागर्दै एकदिन नोमपेन्हको पतन हुन्छ। राजधानी विद्रोहीको कब्जामा परेपछि भएभरका विदेशीहरुको भागाभाग चल्छ। गौतम पनि ज्यान जोगाएर भाग्छन्।

त्यसपछि पनि लगातार गौतमले एकपछि अर्को संकटग्रस्त मुलुकहरुमा जिम्मेवारी सम्हाल्दै जान्छन्।

लामो कालखण्डसम्म हामीले सुन्दै आएको संसारकै महत्वपूर्ण घटना र तिनका पात्रबारे हाम्रै नेपालीले गरेको प्रत्यक्षदर्शी वर्णनको रुपमा पनि यो पुस्तक अघि बढेको छ। नेल्शन मण्डेलाजस्ता बितेको शताब्दीकै चुनिएका नायकहरुसँगको व्यक्तिगत अनुभवहरु पुस्तकमा समेटिएका छन्।

गौतमलाई उनी अध्ययनरत अमेरिकी संस्था ‘डार्टमथ’ले हालै मानार्थ विद्यावारिधिसमेत प्रदान गरेको छ। सन् १७६९ मा स्थापित डार्टमथ उत्कृष्ठ अमेरिकी शिक्षण संस्थाहरुको समूह ‘आइभी लिग’ अन्तर्गत पर्छ।

गौतमले सन् १९६८ को सेप्टेम्बरबाट त्यहाँ पढाइ सुरु गरेका थिए। त्यो शिक्षण संस्था स्थापना भएको दुई सय वर्षपछि पहिलोपटक गौतमकै पहलमा सन् १९७० मा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको एसोसिएसन खोलिएको थियो र त्यसको पहिलो अध्यक्ष पनि गौतम नै निर्वाचित भएका थिए।

डार्टमथबाट ‘अन्तर्राष्ट्रिय सम्बन्ध’मा स्नातक गरेका गौतमले लगत्तै अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयबाट ‘आर्थिक विकास र आधुनिकीकरण’मा स्नातकोत्तर गरेका हुन्। त्यसलगत्तै उनले युनिसेफबाट जागिरे जीवन सुरु गरेका थिए।

सन् २००८ मा राष्ट्रसंघको सेवाबाट अवकाश लिएका गौतमले त्यसपछि पनि थुप्रै अन्तर्राष्ट्रिय संघसंस्थामा आवद्धता जनाउनुका साथै नेपालको शान्ति प्रकृयामा पनि नागरिक अगुवाका रुपमा सघाउ पुर्‍याउने काम गर्दै आएका छन्। २०६६–६८ सालमा उनी नेपालको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा प्रधानमन्त्रीको अवैतनिक विशेष सल्लाहकार समेत थिए।

गौतमलाई मानार्थ विद्यावारिधि प्रदान गर्नुअघि पनि डार्टमथ कलेजले उसका सबैभन्दा प्रतिष्ठित पूर्व विद्यार्थीहरुलाई प्रदान गर्दैआएको ‘मार्टिन लुथर किंग जुनियर सोसल जष्टिस अवार्ड’ तथा ‘लेस्टर बी ग्रेन्जर अवार्ड फर लाइफटाइम अचिभमेन्ट’ जस्ता सम्मान सन् २००९ मा प्रदान गरेको थियो।

त्यसको छ वर्षपछि सन् २०१५ मा पनि दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई सम्वोधनका निम्ति विशेष वक्ताका रुपमा गौतमलाई डार्टमथले निम्त्याएको थियो। उनलाई यसरी सम्बोधन गर्ने निम्तो डार्टमथका अध्यक्ष जिम योङ किमले दिएका थिए जो पछि विश्व बैंकका अध्यक्षसमेत बन्न पुगे।

यसअघि प्रकाशन संस्था नेपालयले उनको पुस्तक लस्ट इन ट्रान्जिसन ल्याइसकेको छ। 

‘मेरो जीवनकथा अब नेपाली पाठकहरु माझ पनि आउँदै गर्दा असाध्यै खुशी छु’, गौतमले भनेका छन्, ‘मैले पाएका अवसरहरु, सामना गरेका चुनौति र चालेका पाइलाहरु भावी पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने विश्वास छ।’

नेपालयले सार्वजनिक गरेको चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतम : आत्मकथा’  पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell