PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

दिनदिनै बैठक बस्दा पनि किन भागबन्डा मिलाउन सकेको छैन गठबन्धनले?



प्रकाश भण्डारी

दिनदिनै बैठक बस्दा पनि किन भागबन्डा मिलाउन सकेको छैन गठबन्धनले?
File Photo

काठमाडौं : टिकट बाँडफाँटका लागि धारावाहिक बैठक बसे पनि सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन। गठबन्धनको टिकट बाँडफाँट मिलाउन साउन २० गते कार्यदल गठन भएको थियो।

११ सदस्यीय कार्यदलको बैठकमा लगातार छलफल भइरहेको छ। तर, भदौ पहिला सातासम्म टुंगो लगाउने समयसीमा तोकिएको कार्यदल दोस्रो हप्ता सकिन लाग्दा पनि निर्णयविहीन छ।

गठबन्धन दलहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ १६५ निर्वाचन क्षेत्रका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्। उक्त दाबी अनुसारको भाग नमिल्ने देखिएपछि कार्यदलमा आ-आफ्नो दलमा छलफल गरेर फेरि बैठक बस्ने तय भएको छ।

कार्यदलको बैठक आइतवार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। भदौ १५ गतेसम्म टुंगो लगाइसक्ने गरी कार्यदलमा गृहकार्य भइरहेको गठबन्धन दलका नेताहरुले बताएका छन्।

गठबन्धनका शीर्ष नेताहरुलाई समेत कार्यदलले पटक-पटक भेटेर भागबन्डाका बारेमा छलफल गरिरहेको छ। उक्त छलफलपछि पनि भागबन्डा मिलाउन भने कार्यदलले सकेको छैन।

कुन दलको कति छ दाबी?

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गरेको छ। नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले ३३ सिटमा दाबी गरेका छन्।

राष्ट्रिय जनमोर्चाले भने २ सिटमा दाबी गरेको छ। प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जम्मा १६५ निर्वाचन क्षेत्रमा गठबन्धनले सिट बाँडफाट गर्नुपर्नेछ।

दलहरुले बढी संख्या दाबी गरेपछि कार्यदल निर्णयविहीन भएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए।

‘गठबन्धनमा दलहरुले अलि बढी संख्या नै दाबी गरेका छन्। आ-आफ्नो दलमा छलफल गर्ने भन्ने कुरा भएको थियो। आज टुंगो लगाउने कोसिस हुन्छ,’ पुरीले भने।

सिटमा दाबी गरेको कांग्रेसले कम्तीमा पनि ९० सिट आफूलाई चाहिने बताइरहेको छ। यस्तै, माओवादी केन्द्र ५० र एकीकृत समाजवादी २४ सिट भन्दा कम भए आफूहरुका लागि मान्य नहुने बताइरहेका छन्। जसपाले भने आफ्नो पार्टीले संख्यात्मक दाबी नगरेको बताएको छ। 

जसपाले प्रस्ताव गरेका तीन आधार यस्ता

जसपाका प्रवक्ता मनिश कुमार सुमनले अरु पार्टीको जस्तो आफ्नो संख्यात्मक दाबी नभएर भागबन्डाका आधार प्रस्तुत गरेको बताए। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन, गत बैशाखको स्थानीय तह निर्वाचन र नेताहरुको संवेदनशीलतालाई आधार मान्नुपर्ने जसपाको भनाइ छ। 

‘हाम्रो पार्टीले संख्यात्मक दाबी गरेको छैन। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन,२०७९ को स्थानीय तहको निर्वाचन र नेताहरुको संवेदनशीलताका आधारमा तालमेल गरौं भनेका छौँ,’ सुमनले भने।

२०७९ सालको निर्वाचनका बेलामा नेकपा (एकीकृत समाजवादी) गठन भएको थिएन। एकीकृत समाजवादीले अहिले संसद्मा रहेको संख्यालाई आधार मानेरै भागबन्डा गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

अहिले एकीकृत समाजवादीसँग प्रतिनिधिसभामा २३ जना सांसद छन्। नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ४८, जसपाका १९ जना सांसद छन्। तर, उक्त संख्याका आधारमा टिकट बाँडन कांग्रेस तयार छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell