
हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा अवैध ढंगबाट सडक मिचेर बनाइएका संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ। सडक पेटी मिचेर निर्माण गरिएका संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिड्ने पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाले हेटौँडाको त्यस्ता अवैध संरचना खाली गर्न निर्देशन दिन लागेको हो।
लामो समयदेखि सडक विस्तारको विवाद रहँदै आएको हेटौँडामा दशैँतिहारपछि सडक विस्तारको तयारीमा हेटौँडा उपमहानगरपालिका रहेको बुझिएको छ। मुख्य सडकको छेउमा नक्सा पास भई बनेका साना ठूला टहराहरु पनि ३५ दिने सूचना आजभोलि प्रकाशन गरी काम सुरु गरिने मेयर मिनाकुमारी लामाले बताइन्।
मेयर लामाले भनिन्, ‘अब उपमहानगरले ३५ दिने सूचना प्रकाशन गर्छौँ र नहटाइएको पाइएमा उपमहानगरले मेशिन प्रयोग गरी हटाउँछौँ। अरु नगरपालिकाले के गर्छन् भन्ने तिर भन्दा पनि हेटौँडामा हामी नगरबासीलाई जानकारी दिएर काम गर्छौँ।’
अब २५ मिटर सडक चौडा बनाउन अदालतसँग पनि समन्वय गरिसकेको उनले बताइन्। पार्किङको लागि पास गरी घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनी कारबाही गरिनुका साथै पसललाई हटाउने समेत बताइन्। चाडपर्वपश्चात उक्त कार्य गरिनुका साथै यसअघि आवश्यक छलफल गरिने बताइन्।