PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दृढ आत्मविश्वासका साथ लाग्न पार्टीपंक्तिलाई ओलीको निर्देशन



पहिलोपोस्ट

आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दृढ आत्मविश्वासका साथ लाग्न पार्टीपंक्तिलाई ओलीको निर्देशन
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्।

ओलीले निर्वाचनमा पार्टीले विजय हासिल गर्नु एमालेका लागि मात्र नभई सिंगो राष्ट्र जोगाउनका लागि भएको बताए। एमालेको नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठनको निम्ति परिचालित भई पार्टीलाई विजयी बनाउन सिंगो पार्टीपंक्तिलाई उनले निर्देशन दिए।

अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा गठबन्धन दलहरूले एमालेका विरुद्धमा भ्रम फैलाउने प्रयास गरिरहेको बताउँदै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको स्पष्ट गरे। उनले कोही पनि नेपाली नागरिकले नागरिकता पाउनका लागि दुःख पाउन नहुने बताए।

एमालेले जनताका हरेक समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्ने भन्दै ओलीले नागरिकताको समस्या पनि समाधान हुनुपर्छ भनेरै आफ्नो नेतृत्वको सरकारका पालामा विधेयक ल्याएको र माओवादी केन्द्रले तीन वर्षसम्म संसदीय समितिमा रोकेको बताए।

बैठकले निर्वाचन परिचालन कमिटीको कामलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सचिवालय गठन गरेको छ। सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सात वटा जनसंगठनका अध्यक्षहरु रहेको एमालेले जनाएको छ।

बैठकले निर्वाचन परिचालन कमिटीको सचिव र सचिवालयको सचिवमा उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ। यस्तै, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचनमा परिचालित हुने निर्णय समेत बैठकले गरेको छ।

बैठक आज अध्यक्ष ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको थियो। बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन परिचालनका सन्दर्भमा गर्नुपर्ने कामका बारेमा प्रस्तावहरू प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell