PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कन्टेन्टको खोजीमा लाग्दा हामी फिल्म मेकिङमा चुक्यौँ : निर्देशक सुदर्शन थापा



पहिलोपोस्ट

कन्टेन्टको खोजीमा लाग्दा हामी फिल्म मेकिङमा चुक्यौँ : निर्देशक सुदर्शन थापा

काठमाडौं : पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा फिल्मको कन्टेन्ट बलियो हुनुपर्ने चर्चा निकै चल्ने गरेको छ। कथावस्तु खोज्नकै लागि फिल्म निर्माताहरू गाउँ-गाउँ गएर पुगिरहेका छन्।

तर, निर्देशक सुदर्शन थापाले भने फिल्म निर्माताहरू नयाँ कन्टेन्टको खोजीमा लाग्दा फिल्म मेकिङमा चुकेको बताए। आइतवार थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार भेटघाट कार्यक्रममा थापाले नेपाली फिल्म निर्माताहरू कथा विषयवस्तु मात्रै खोजिरहेको तर निर्माणमा भने चुकिरहेको बताए।

‘हामी कन्टेन्टको खोजीमा मेकिङमा चुकिरहेका छौँ। अहिले दक्षिण भारतीय फिल्म पुष्पा, आरआरआर र केजीएफको संसारमै चर्चा छ। एउटा प्रान्तीय फिल्मले संसार हल्लाएको छ। तर, उनीहरू गाउँ-गाउँ गएर कन्टेन्ट खोज्न लागेनन्। ठूला बजेट र सिनेमाको मेकिङमा ध्यान दिन थाले उनीहरूले,’ उनले भने।

नेपाली फिल्मलाई धेरै कुरामा वर्गीकरण गरिएको बताउँदै संसारभर फिल्म राम्रो वा नराम्रो मात्र हुने उनको तर्क छ।

उनी भन्छन्, ‘नेपालमा फिल्मलाई कन्टेन्ट, अर्गानिक, नेपालीपन र आर्ट भनेर छुट्याइन्छ। तर, संसारभर राम्रो र नराम्रो मात्रै हुन्छन्। नेपालमा पनि जुन सिनेमा चल्यो रेकर्ड राखे ति राम्रा र जुन फिल्म दर्शक हेर्न आएनन् र चलेनन् ती नराम्रा। अहिले कन्टेन्ट खोज्दा मेकिङ बुझ्न बिर्सिएका छौँ हामी। सिनेमा भनेको 'लार्जर देन लाइफ' हो। साउथको सिनेमा लार्जर देन लाइफ हुँदा नै चलेका हुन्।’

साथै, कलाकारलाई भारी बोकाउँदा नेपाली फिल्म चुकेको समेत उनको धारणा छ।

‘हामी मेकरभन्दा एक्टरलाई भारी बोकाउँछौँ। फनानो एक्टरको फिल्म चल्यो भन्छौँ। तर, एक्टरमाथि मेकरको हात छ भन्ने सोच्दैनौँ। मेकरलाई प्राथमिकता नदिँदा हामी चुकेका हौँ,’ उनले भने।

आफूले जाने बुझेअनुसार राम्रो फिल्म बनाएको उनी दाबी गर्छन्। लभ स्टोरी जनरामा निर्माण भएको यस फिल्मले दर्शकलाई ज्ञान र शिक्षा दिनेभन्दा पनि मनोरञ्जन मात्र दिने थापा बताउँछन्।

आउँदो शुक्रवारबाट प्रदर्शन हुने यस फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ। कभर गीत गाएर चर्चामा आएका तोप्देनले यसै फिल्ममार्फत डेब्यू गरेका हुन्।

यो फिल्म सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’ चर्चित गीतको नाम सापटी लिँदै बनाइएको हो। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा हुन्। फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell