PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय



पहिलोपोस्ट

मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं: मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने नीति पारित गरेको हो।

बैठकमा पार्टीका महासचिव वैद्यले पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। 

बैठकमा महासचिव किरणले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। 

संघ र प्रदेशको दुबै तहको निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित उदारवादी हिसावले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरुद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको प्रतिवेदनमा उल्लेख छ।

'प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने, साधन स्रोतहरुको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायहरुको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रुपमा त्रसित, आतङ्कित एवम् भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेको,' बैठकपछि जारी वक्तव्यमा भनिएको छ, 'आफूलाई कम्युनिस्ट बताउँदै आएका कैयौं पार्टी तथा सङ्गठन संसदको उपयोग गर्ने वा भाग लिने मात्र नभई प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नै आत्मसमर्पण गर्दै आएको, उपयोगको नाममा सरकारमा सामेल भई मिलेराँवादको अभ्यास गर्ने, पुरानो राज्यसत्ता तथा व्यवस्थालाई सघाउने एवम् त्यसैमा विलय हुने, विरोधी पार्टीको चुनाव चिह्न लिई आफ्नो अस्तित्व नै गुमाउने, संसदको उपयोग होइन संसदबाटै उपयोग हुने जस्ता निकृष्ट उदाहरण र नकारात्मक अनुभव प्रचुर मात्रामा रहेका र ती सबैबाट आवश्यक पाठ सिक्दै अघि बढ्न जरुरी भएको छ।'

बैठकले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ। 'यो बेला राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको वास्तविक समाधान गर्नका लागि वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न ऐतिहासिक तथा राजनीतिक दृष्टिले अनिवार्य तथा अपरिहार्य रहेकोले, हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको छ र यस प्रकारको नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना तथा सञ्चालन गर्ने ठेगान भएको छ,' बैठकपछि वैद्यले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

बैठकले निर्वाचन बहिष्कार गर्ने नीति अंगीकार गरे पनि क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा भने निर्वाचन प्रयोजनका लागि साउन ३१  गते निर्वाचन आयोगमा दर्ता भएको छ।

त्यस्तै वर्तमान राज्यसत्ता, व्यवस्था र सरकार आर्थिक, राजनीतिक तथा सांस्कृतिक दृष्टिले चरम रुपमा सङ्कटग्रस्त बन्दै गएको, सरकारका कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका तीनवटै अङ्ग दिनप्रतिदिन असफल हुँदै आएको, वर्तमान गठबन्धन सरकार भारतीय विस्तारवादसित गरिएका तमाम असमान सन्धि सम्झौताहरुलाई निरन्तरता दिँदै तथा देशका विभिन्न भू-भागहरुमा भएका तथा जनसाङ्ख्यिक अतिक्रमणप्रति मौन रहँदै र अमेरिकी साम्राज्यवादसित दलाली तथा आत्मसमर्पण गरी राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न निर्लज्जरुपमा प्रस्तुत भएको आरोपसमेत लगाइएको छ। 

बैठकले सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध तुल्याउने प्रक्रियामा क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) का बीच पार्टी एकता संयोजन समिति निर्माण गरिएको भन्दै त्यसबाट जनमानस तथा क्रान्तिकारी कम्युनिस्ट पङ्क्तिमा सकारात्मक सन्देश प्रवाहित गरेको छ र उत्साहित तुल्याएको निष्कर्ष निकालेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell