
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले भालाडोलिडमाथि ४-० गोलको फराकिलो जित निकालेको हो।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दोहोरो गोल गर्दा पेड्री र सर्जियो रोबर्टोले समान १/१ गोल गरे। खेलको २४ औं मिनेटमा राफिन्हाको पासमा गोल गर्दै लेवान्डोस्कीले घरेलु टोलीको खाता खोलेका थिए। त्यस्तै ४३ औं मिनेटमा पेड्रीले ओस्माने डेम्बेलेको पासमा गोल गर्दा पहिलो हाफमा बार्सिलोनाले दुई गोलको अग्रता बनायो। दोस्रो हाफमा फेरि लेवान्डोस्कीले नै गोल थपे। यसपटक उनले डेम्बेलेको पासमा ६१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ९२ औं मिनेटमा लेवान्डोस्कीको पासमा सर्जियो रोबेर्टोले गोल गर्दा बार्सिलोनाले ४-० को सानदार जित निकाल्न सफल भयो।
जितसँगै ३ खेलबाट ७ अंक जोडेको बार्सिलोना अंकतालिकाको तेस्रो स्थानामा छ भने भालाडोलिड समान खेल खेलेर १ अंक जोड्दै १९ औं स्थानमा छ।
गएराति नै सम्पन्न अर्को खेलमा रियल मड्रिडले स्पानोयललाई १-३ गोलअन्तरले हराएको थियो।