PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नक्कली रक्सी प्रकरणमा समातिएर छुटेपछि पुनः उस्तै अपराधमा, राजस्वको 'सक्कली स्टिकर' कसरी पुग्यो नक्कली रक्सी कारोबारीको हातमा?



सविन ढकाल

नक्कली रक्सी प्रकरणमा समातिएर छुटेपछि पुनः उस्तै अपराधमा, राजस्वको 'सक्कली स्टिकर' कसरी पुग्यो नक्कली रक्सी कारोबारीको हातमा?

काठमाडौं : काठमाडौंका केही नाइट क्लब, दोहोरी साँझलगायत ठाउँमा नक्कली रक्सी प्रयोग हुँदै आएको खुलेको छ। गत शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली रक्सी उत्पादन र बिक्री वितरण गर्ने गिरोहलाई सार्वजनिक गरेपछि घटनाको पर्दाफास भएको हो। उनीहरूले उत्पादन गरेको नक्कली रक्सी विभिन्न क्लब, दोहोरी साँझ, नाइट क्लब, रेस्टुराँ लगायतमा बिक्री गर्ने गरेको बयान दिएका छन्।

काठमाडौंको कोटेश्वर र भक्तपुरको दुवाकोटबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिकाका हरि वली र भीमेश्वर नगरपालिकाका भगवान बस्नेत छन्। यस्तै, कालिन्चोककै विशाल वली, काठमाडौं मूलपानी बस्ने मनोज खत्री र ठमेल बस्ने गोपी श्रेष्ठ रहेका छन्।  उनीहरूले रक्सीको बोतलमा प्रयोग गरेको आन्तरिक राजस्व कार्यालयको स्ट्रिकरमा समेत शङ्का भएकाले प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले कोटेश्वरबाट पक्राउ परेका हरि वलीको कोठाबाट आन्तरिक राजश्व विभाग (LIQUOR) लेखिएको स्टिकर ९२ वटा फेला पारेको थियो। त्यो स्टिकर नक्कली वा सक्कली हो भन्ने अनुसन्धानमा खुलिनसेको परिसरका एसएसपी भरत बोहराले बताए। स्टिकर सक्कली भएको पुष्टि भए फेरी अनुसन्धान अर्कोतिर मोडिने देखिएको छ। निकै संवेदनशील मानिने आन्तरिक राजस्व कार्यालयको सक्कली स्टिकर उनीहरूसँग कसरी पुग्यो? यसमा आन्तरिक राजस्व कार्यालय पनि जवाफदेही बन्ने देखिन्छ।

अहिले जनक शिक्षा सामाग्री केन्द्रले स्टिकर छपाइको जिम्मा पाएको छ। तर सुरक्षण राम्रो नहुँदा स्टिकरको पुनर्प्रयोग हुन थालेको भेटिएको छ।

'अरु सस्तो रक्सीको बोतलको स्टिकर उक्काएर टाँसे पनि ९२ वटा पाटामा भेटिएको स्टिकर भने सक्कली नै हो। उनीहरूसँग कसरी पुग्यो भन्नेमा हामी पनि खोज्दै छौँ,' एक प्रहरी अधिकृतले भने।

पक्राउ पर्नेहरूले ब्रान्ड मदिराको बोतलमा सस्तो मदिरा मिसाएर बिक्री गर्ने गरेको खुलेको छ। उनीहरूले रंगअनुसारको सस्तो रक्सी महँगो रक्सीमा मिसाउने गरेका थिए। जसको लागि महँगो रक्सीको बिर्को सावधानीपूर्वक खोलेर सस्तो रक्सी भरेर बजारमा पठाउने गर्थे। जसमा मंहगो रक्सीमा सस्तो रक्सीको आन्तरिक राजस्व कार्यालयको स्टिकर उक्काएर टाँस्ने गरेको प्रहरीको अनुसन्धान खुलेको छ। त्यसपछि उनीहरूले डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायत ब्रान्ड मदिराको बोतलमा रक्सी भर्ने गर्दथे।

यसरी महँगो रक्सीमा सस्तो रक्सी हालेर बजारमा लैजाने योजनाको मुख्य योजनाकार भने मनोज खत्री भएको देखिएको छ। मनोज तिनै व्यक्ति हुन्, जो तीन वर्षअघि यसरी न्यु वल्ड दरबार भन्दै नक्कली रक्सी बिक्री गरेको अभियोगमा काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेका थिए। त्यसपछि बाहिर निस्किएर पुनः नक्कली रक्सीको कारोबारमा लागेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको एक प्रहरी अधिकृतले बताए। खत्री गाडी चालकसमेत हुन्। उनले भारतमा रक्सी बनाउन सिकेर नेपाल आएर धन्दा सुरु गरेको बताएका छन्।

यस्ता नक्कली मदिरा नाइट क्लब, रेस्टुराँ र दोहोरी साँझमा पुर्‍याइने गरिएको पाइएको छ। ब्रान्ड मदिरालाई बजारमा चलेको भन्दा सस्तो मूल्यमा उनीहरूले बिक्री गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख भरत बोहराले बताए। यसरी पुगेको रक्सी क्लबमा ग्राहकले खाएर स्वाद थाहा पाएपछि घटना प्रहरीसँग पुगेको थियो। यसरी रक्सी बजारमा पुर्‍याउने काम भने हरि वली र विशाल वलीले गर्ने गरेका थिए। उनीहरू दाजुभाइ भएकोसमेत खुलेको छ। भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट नक्कली रक्सीको उत्पादन हुने गरेको थियो। भगवानको जडीबुटीमा रक्सीको पसलसमेत रहेको खुलेको छ।

उनीहरूले बनाएको रक्सी डान्स क्लब, दोहोरी साँझ, रेस्टुरेन्टलगायतमा बिक्री गर्ने गरेका थिए। ८ हजार पर्ने मदिरालाई 'स्टक क्लियरेन्स' गर्ने भन्दै ७ हजारमा बिक्री गर्ने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell