काठमाडौं : स्ट्यान्ड-अप कमेडियन अपूर्व क्षितिज सिंह आइतवारदेखि प्रहरी नियन्त्रणमा छन्। आइतवार बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका थिए।
उनीविरुद्ध उजुरी परेपछि प्रहरी कहाँ पुगेका सिंहलाई प्रहरीले हिरासतमा राखेको छ। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरी प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो।
प्रहरीले दुवै पक्षलाई आइतवार छलफलको लागि बोलाएको थियो। उनले आफूले गरेको कमेडी युटुबबाट हटाएर माफी समेत मागिसेका छन्। तर, प्रहरीले थप अनुसन्धान भन्दै जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको छ।
उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद १० को उपदफा १ सय ६५ बमोजिम सामाजिक रीति स्थिति खलल गरेको भन्दै म्याद थप गरिएको छ।
उनको कमेडीको आलोचना भएपछि फेसबुकमार्फत आफूले जातीय रुपमा गलत प्रस्तुती दिएको स्वीकार गर्दै माफी मागेका हुन्। यदी उनीमाथि लगाएको कसुर प्रमाणित भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै हुने कानुनी व्यवस्था रहेको छ।