काठमाडौं : प्रतिनिधिसभा बैठकमा सांसद दिव्यमणि राजभण्डारीले गोर्खा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुंगो लगाउन सरकारसँग माग गरेका छन्।
भारत सरकारले अग्निपथ योजना सार्वजनिक गरेपछि नेपालबाट हुँदै आएको गोर्खा भर्तीबारे सरकारले धारणा सार्वजनिक गरेको छैन। भारतले भने गोर्खा भर्ती पि अग्निपथ योजना अन्तर्गत हुने बताइसकेको छ।
सोमवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा राजभण्डारीले गोर्खा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दु:खी बनाएको बताए।
त्यस्तै, सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरुको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे। उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरुको जाहेज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए।
सांसद दुर्गाकुमारी विश्वकर्माले भने मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा विदेशमा भएका नेपालीलाई पनि मत हाल्न पाउने व्यवस्था मिलाउन माग गरे। उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको भन्दै सम्बन्धित दुतावासबाट मत हाल्न पाउने व्यवस्था गर्न पनि माग गरे।
त्यस्तै, एमाले सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवन्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गरे। उनले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताउँदै यो वर्ष करिब ९ टन कफी निर्यात गर्ने किसानहरुले लक्ष्य राखेको पनि बताए। त्यहाँका किसान संसदसमेत मन्त्रालयहरुमा गएर कफी खेती प्रवन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए।
सांसद पार्वता जिसी चौधरीले नेकपा माओवादी र नेपाली कांग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हीत नगर्ने बताइन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन्। उनले प्रधानमन्त्री देउवालाई कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव समेत दिइन्।
सांसद अञ्जना बिसुङ्खेले भने आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरिन्। उनले आरक्षण ताकेर तत्काल विधेयक ल्यान सभामुखको रुलिङ माग गरिन्।
नेपाला मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले त्रिभूवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्नुपर्ने माग राखे। यस्तै, उनले भारतको नोयडाको ट्वीन टावरमा बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारीक भवन छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताउनु बताए। साथै, सुवालले निर्वाचन घोषणा भएपछि संसद संचालन हुनु आचार संहिताको उल्लंघन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग समेत गरे।
सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भए पनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे। उनले यो भन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाएको आरोप समेत लगाए।