PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कार्यकर्तालाई प्रचण्डको निर्देशन : माओवादी आन्दोलनलाई सिद्ध्याउन खोजिँदै छ, फेरि पनि भिड्नुपर्ने हुनसक्छ



पहिलोपोस्ट

कार्यकर्तालाई प्रचण्डको निर्देशन : माओवादी आन्दोलनलाई सिद्ध्याउन खोजिँदै छ, फेरि पनि भिड्नुपर्ने हुनसक्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलन र माओवादी पार्टीलाई 'ह्युमिलियट' (अपमानित) गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। 

काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनलाई सिद्ध्याउनका लागि पत्रपत्रिकादेखि 'सोसल मिडिया'सम्म प्रचार गरिएकोसमेत आरोप लगाए। उनले यस विषयलाई चिर्न पार्टीका कार्यकर्ताहरु भिड्नुपर्नेसमेत बताए।

'विचार गर्नुहोला। चुनावमा यो कुरा चर्को उठ्नेवाला छ। तपाईँहरु फिल्डमा लड्नुपर्नेछ,' उनले भने।

उनले पछिल्लो घटना माओवादीलाई नागरिकता विधेयकसँग जोडेर सिद्धाउन खोजेको समेत बताए। साथै, विधेयकमा नागरिकता विहीन सात लाखलाई नागरिकता दिने व्यवस्था मात्र रहेको बताए। 

प्रचण्डले राज्यव्यवस्था समितिमा वैवाहिक अंगीकृत नागरिकतामा सात वर्ष सीमा राख्ने कुरा भएको बताए। तत्कालीन नेकपा हुँदा अध्यक्ष केपी शर्मा ओली समक्ष सो प्रस्ताव राख्दा उनले नमानेको उनले दाबी गरे। भने, 'हाम्रै पार्टीका नेता शशी श्रेष्ठ समितिको सभापति हुनुहुन्हुन्थ्यो त्यतिबेला माओवादीकै जोडबलले नै सात वर्ष राखिएको थियो। त्यसमा सहमति जुट्न सकेन्। सभापति शशी श्रेष्ठ र म नेकपाको अध्यक्षको हैसियतले अर्का अध्यक्ष प्रधानमन्त्री ओलीलाई संसदमा पेश गरौं भनेर भन्दा मानेनन्।'

उनले विधेयक 'फूल हाउस'मा लैजाउँ भन्दा नमान्ने ओलीले अध्यादेश ल्याएको आरोप लगाए। 'अहिले माओवादीलाई झोस्दैछन्,' उनले भने, 'राष्ट्र्वादी देखिन भोट पाइएला भनेर हिजो नाकाबन्दीको बेला जस्तो नागरिकता विधेयकलाई उचालेका छन्।'

वैवाहिक अंगीकृतलाई थाँती राखेर नागरिकता विहीनलाई नागरिकता दिनका लागि बाटो खोलेको उनको दाबी छ।  

संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा लगाउन विधेयक आएको भन्दै उनले अहिले शान्ति प्रक्रिया टुंगिन नदिन चाहेन तत्वहरु हावी भएको बताए। 

'अहिले पीडितहरुको पक्षमा भएन भनेका छन्,' उनले आरोप लगाए, 'उनीहरुले पीडितलाई परिभाषित कसरी गरेका छन् भने माओवादी पीडित नै होइन। सरकारले पीडा दिएकाहरु पीडित होइनन्। माओवादी विद्रोहबाट पीडित मात्र पीडित हुन् भनेर भन्ने गरेका छन्।'

प्रचण्डले यस विषयमा पार्टी कार्यकर्ताहरु टोलटोलमा भिड्नुपर्ने अवस्था आउनेसमेत बताए। उनले नागरिकता विधेयक जस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ऐन संशोधन विधेयकमा पनि बखेडा झिकिरहेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell