PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नागरिकता विधेयकबारे राष्ट्रपतिको देउवालाई सुझाव : राष्ट्रियसभामा राष्ट्रिय सहमति कायम गराउनुस्



प्रकाश भण्डारी

नागरिकता विधेयकबारे राष्ट्रपतिको देउवालाई सुझाव : राष्ट्रियसभामा राष्ट्रिय सहमति कायम गराउनुस्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्। काङ्ग्रेस पदाधिकारीसहित देउवाले भेटवार्ता गरेको राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार टीका ढकालले जानकारी दिए।

भेटवार्तामा काङ्ग्रेसका महामन्त्री गगन थापासहितका नेताहरु सहभागी थिए। उक्त भेटमा नागरिकता विधेयक, मंसिर ४ गते हुने निर्वाचनलगायतका विषयले प्राथमिकता पाएका थिए।

‘समसामयिक कुरा भए। नागरिकता विधेयकको कुरा भए। सौहार्दपूर्ण रुपमा कुराकानी भयो,’ ढकालले भने।

भेटमा देउवाले नागरिकता विधेयकले नागरिकतासम्बन्धी सबै समस्या समाधान गर्न नसकेको बताएका थिए। नागरिकता समस्या समाधानका लागि विभिन्न आयोग गठन भएको र ति आयोगले पनि नागरिकताबारे समस्या रहेको देखाएको देउवाले बताएका थिए।

‘विभिन्न समयमा आयोगहरु गठन भए नागरिकताका सन्दर्भमा। आयोगहरुले पनि नागरिकताका सम्बन्धमा समस्याहरु छन् भनेका छन् हामीले त्यसलाई स्वीकार्दै आएका छौँ। अहिलेको विधेयकले पनि नागरिकताका सबै समस्या समाधान गर्दैन,’ भेटमा देउवाले भनेका थिए।

तर, यसले तत्कालका केही समस्याहरु समाधान गर्ने भन्दै राष्ट्रपतिले भनेका कुरामा आफ्नो पनि सहमति भएको देउवाले बताएका थिए।

महामन्त्री गगन थापाले पनि राष्ट्रपतिले पठाएको सन्देश महत्वपूर्ण भएकोबारे आफूले प्रतिनिधिसभामा बोलेको प्रसंग निकाल्दै भण्डारीको सुझाव मार्गदर्शन भएको बताए।

‘नागरिकताका सम्पूर्ण समस्या समाधानका लागि विधेयक ल्याउनुपर्ने थियो हामीसँग समय रहेन। अघिल्लो सरकारले ल्याएको विधेयकले पनि केही समस्या समाधान गर्‍यो। हामीले त्यसमा एनआरएनलाई मताधिकार वाहेकको नागरिकता दिने एउटा प्रावधान थपेर ल्याएका छौँ तर यो नै सबै कुराको समस्याको समाधान होइन,’ थापाको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो।

राष्ट्रपतिको सन्देशलाई संसद्ले सधै विचार गर्नुपर्ने थापाको विचार थियो। भने, ‘नागरिकताका विषयमा कस्तो दृष्टिकोण बनाउनुपर्छ भन्ने बताएको छ। राष्ट्रियसभामा गएको छ यसमा सहमति खोज्ने प्रयास भइरहेको छ। राष्ट्रियसभामा भएको छलफलका आधारमा अघि बढ्नुपर्छ।’

राष्ट्रपति भण्डारीले सत्ता गठबन्धनमध्ये पनि काङ्ग्रेस प्रमुख पार्टी भएको भन्दै देउवाले राष्ट्रिय सहमतिका लागि पहल गर्नुपर्ने धारणा राखेकी थिइन्। सबै दलको विचारलाई समेटेर अघि बढ्न देउवालाई भण्डारीले आग्रह गरिन्।

‘राष्ट्रपतिले सत्तारुढमध्ये पनि नेपाली काङ्ग्रेस प्रमुख पार्टी हो प्रधानमन्त्रीले पहल गर्नुपर्‍यो। सबै दलको धारणा समेटेर राष्ट्रिय सहमति बनाउनुस् भन्नुभयो,’ राष्ट्रपतिको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो।

नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पठाएकोमा भण्डारीले सुझावसहित संसद्मा फिर्ता पठाएकी थिइन्। हाल राष्ट्रियसभामा रहेको विधेयकबारे विधान व्यवस्थापन समितिमा छलफल हुने भएको छ।

भण्डारीको सुझावलाई नसमेटेर सत्ता गठबन्धनले विधेयकलाई जस्ताको त्यस्तै प्रतिनिधिसभामा अघि बढाएको थियो। विधेयकमा आफूले दिएको सुझावलाई नसमेटेरै प्रमाणीकरण गर्न खोजिएको भन्दै पछिल्लो समय राष्ट्रपति भण्डारीले छलफललाई तीव्रता दिएकी छन्।

राष्ट्रपति भण्डारीले नागरिकताका विधेयकमा असन्तुष्टि जनाउँदै राजीनामा गरेर सक्रिय राजनीतिमा आउन चाहेको भन्दै टिप्पणी भइरहेको भएपनि भण्डारीको पूर्व पार्टी नेकपा (एमाले)ले भने खण्डन गरिरहेको छ। सोमवार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले राष्ट्रियसभामै विधेयक रहेका बेला राष्ट्रपतिले राजीनामा गर्छन् भन्नु झुटो भएको बताए।

भण्डारीले सरकारले ल्याएको विधेयकमाथि विभिन्न सुझाव दिएकी थिइन्। तर, सत्ता गठबन्धनले भने राष्ट्रपतिको सुझाव समेट्न नसकिने बताइरहेको छ।

यद्यपि, प्रतिनिधिसभामा जस्ताको त्यस्तै पारित गराएको गठबन्धन राष्ट्रियसभामा भने केही लचिलो बनेको छ। छलफलका लागि तयार भएसँगै सरकार विधेयकमा छलफल गर्न केही लचक भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell