काठमाडौं: नेपाल र केन्याबीच जारी टी २० सिरिजको चौथो खेलमा नेपाल केन्यासँग पराजित भएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ७ रनले पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ९४ रनमा समेटियो।
सुरुवाती ब्याटिङ गरेको केन्याका लागि ओपनर कोलिन्स ओबुयाले २० रन बनाउँदा लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। त्यस्तै कप्तान शेम एनगोचेले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद आदिल आलमले २ तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको प्रदर्शन बिर्सनलायक रह्यो। ओपनर पवन सर्राफलाई शुन्य रनमै गुमाएको नेपालका लागि अर्का ओपनर अर्जुन साउद र अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पभेलियन फर्किए। त्यसपछि आएका रोहित कुमार पौडेलले सर्वाधिक ४७ रन बनाउँदा त्यसपछिका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
यसअघि सिरिजको पहिलो र तेस्रो खेलमा नेपालले जित निकालेको थियो भने केन्याले दोस्रो खेलमा जित निकालेको थियो। आज केन्याले जितेसँग ५ खेलको सिरिजमा २-२ बराबरी भएको छ। अन्तिम टी २० खेलमा नेपाल र केन्या भोलि प्रतिस्पर्धा गर्नेछन्।