PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चित्तपोलमा य:सिंको क्षमा पूजा र गुरुज्यूको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

चित्तपोलमा य:सिंको क्षमा पूजा र गुरुज्यूको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : यँया (इन्द्रजात्रा) का लागि हनुमानढोकामा य:सिं ठड्याउन रुख काट्न सुरु भएको छ। मानन्धर समुदायको टोलीले राति ८ बजेर ९ मिनेटको साइतमा भक्तपुरको चित्तपोलमा रहेको सामुदायिक वनमा वृक्षकर्तन सुरु गरेको हो।

राति स्वस्ती पाठ गर्दै (दुगु) बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा बन्चरोले हानिएको हो। य:सिंका लागि छनौट गरिएको रुखमा हनुमानढोकामा कार्यरत सहायक पण्डितले क्षमा पूजा गरेका थिए। यस्तै, काठमाडौंबाट गएको गुरुज्यूको पल्टनले य:सिंलाई सलामी अर्पण गरेको थियो।

य:सिं ल्याउन आज बिहान मानन्धर समुदाय वन यात्रामा निस्किएका थिए। बिहान हनुमानढोकामा पूजा गरि मानन्धर समुदायहरु गुरुज्यूको पल्टन सहित नाला पुगेका हुन्। त्यहाँ पुगेर समयबजी चढाएर य:सिंका लागि रुख काट्न सुरु भएको हो।

य:सिंका लागि काठमा प्रहार गरेर काठमाडौंबाट भक्तपुर पुगेको टोली राति नै फर्किएको छ। आज बन्चरोले प्रहार गरिएको रुख भोलिबाट काट्न सुरु हुन्छ।

पहिला बोकालाई अय्ला खुवाएर छोडेर जुन रुखमा छुन्थ्यो त्यही रुखलाई य:सिंका रुपमा काटेर ल्याउने गरेको कथन थियो। तर, अहिले भने त्यस्तो हुँदैन। अहिले भने मानन्धर समुदायबाट अगुवाहरु चित्तपोल (यसिंगुँ) पुगेर पूजा गरेर वृक्षकर्तन गर्ने गर्छन्। अहिले इन्द्रजात्रा सुरु हुने दिन हनुमानढोकामा ठड्याइने य:सिंको लागि रुख छनौट गर्न केन्द्रीय मानन्धर संघका सदस्यहरु शिवरात्रीपछि नालास्थित यसिंगुँमा जाने गर्छन्। पहिला राजपुरोहितसँग गएर वनकालीको पूजापश्चात रुख छनौट गरिन्थ्यो। हाल भने गुरुज्यूको पल्टनका पुजारीसँग गई रुख छनौट गर्ने गरिन्छ। रुख छान्न जाने क्रममा होम गरी पूजा गर्न पहिला वर्ष ठड्याइएको य:सिंको काठ प्रयोग गरिन्छ।

यो वर्ष भदौ २२ गते हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ। यो वर्ष भदौ २४ गते इन्द्रजात्रा परेको छ। सो दिन 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

असोज २५ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। भदौ २८ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell