इराकमा मुकतडा अल सदर समर्थित सिया समुदाय र सुरक्षाकर्मीबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ। राजधानी बगदादमा भएको हिंस्रक झडपका क्रममा ३५० जनाभन्दा धेरै व्यक्ति घाइते भएका छन्।
मुकतडाका समर्थक राष्ट्रपति निवास प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। मुकतडाले राजनीतिबाट संन्यास घोषणा गरेपछि उनका समर्थक सडकमा ओर्लिएका थिए।
धेरैजसो झडप सरकारी कार्यालय र दूतावास रहेको सुरक्षित क्षेत्र मानिने ‘ग्रीन जोन’मा भएको छ। प्रदर्शन बढ्दै गएपछि नेदरल्यान्ड्सको दूतावासका कर्मचारीहरु जर्मनीको दूतावासमा शरण लिन पुगेका छन्।
परिस्थिति बिग्रन सक्ने भन्दै इराकभर कर्फ्यू लगाइएको छ। कार्यवाहक प्रधानमन्त्री मुसतफा अल खादीमीले शान्ति कायम राख्न सबैमा अपील गरेका छन्। मुमुकतडाको नजिकका मानिने खादीमीले हिंसा रोक्न अपील गर्न उनीसँग आग्रह पनि गरेका छन्। मुकतडाले हिंसा र हतियारको प्रयोग नरोकेसम्म आमरन अनसन बस्ने घोषणा गरेका छन्।
बढ्दो राजनीतिक तनावलाई मध्यनजर गर्दै इरानले इराकसँगको सीमा सबै बन्द गरेको छ भने कुवेतले त्यहाँ रहेका सबै नागरिकलाई तत्काल फर्कन आग्रह गरेको छ।
केही हप्ता अघि बगदादमै रहेको संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए। इराकी सिया प्रमुख मुकतडाका समर्थकहरुले प्रधानमन्त्रीका लागि मनोनित गरिएका मोहम्मद सिया अल सुदानीको विरोध गर्दै संसदभित्रै पसेर विरोध जनाएका थिए। उच्च सुरक्षा व्यवस्था हुने ‘ग्रीन जोन’ लाई तोड्दै उनीहरु संसद भवन भित्र पसेका थिए।
सदरको पार्टीले सन् २०२१को अक्टोबरमा भएको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको थियो। तर, उनले सरकार बनाउन सकेका थिएनन्। उनले आफ्ना विपक्षी दलहरुसँग सहकार्य नगर्ने निर्णय गरेपछि सरकार निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन।
विपक्षी सिया नेताहरुले र पार्टीले राजनीतिक व्यवस्था परिवर्तन गर्न नचाहेको आरोप लगाउँदै उनले राजनीतिबाटै संन्यास लिने घोषणा गरेपछि इराकमा हिंसा भड्केको हो।