PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

अब रत्नपार्कमा गर्न सकिन्छ विद्युतीय गाडी ‘फास्ट चार्ज’, प्रतिघण्टा कति लाग्छ शूल्क ?



पहिलोपोस्ट

अब रत्नपार्कमा गर्न सकिन्छ विद्युतीय गाडी ‘फास्ट चार्ज’, प्रतिघण्टा कति लाग्छ शूल्क ?

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि फास्ट चार्जिङ स्टेसन संचालनमा ल्याएको छ। मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन्।

यो चार्जिङ स्टेसनमा ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको ‘एसी गन’ रहेका छन्। १२० किलोवाट डिसीसम्म पनि सिंगल डिसी गनले गाडीहरु चार्ज गर्न सकिन्छ।

यहाँ २६ वटा ठूला बस माइक्रो, ट्रक, पिकअप तथा कारका लागि र २५ वटा साना ठूला कारहरुका लागि मिल्ने चार्जर रहेको छ। नेपालमा उपलब्ध सवारीसाधनहरुमा रहेको ब्याट्रीको क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा फुल चार्ज हुनेछ बताइएको छ।

चार्ज गर्दा कारहरुका औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा , माइक्रो बसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमटर खर्च लाग्नेछ। समय अनुसार इनर्जी शुल्क फरक फरक रहेको छ।

मझौला भोल्टेज (३३ केभी)को पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.४० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ, अन्य (बिहान ५  देखि साँझ ५ बजेसम्म) ६.६० रुपैयाँ प्रतिकिलोवाट घण्टा (युनिट) पर्छ।

मझौला भोल्टेज (११ केभी) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.६० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.७० रुपैयाँ युनिट पर्छ।

तल्लो भोल्टेज (२३०/४०० भोल्ट) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.७० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.९० रुपैयाँ युनिट पर्छ।

चार्जिङ स्टेसन संचालकले विद्युतीय सवारीसाधनलाई चार्जिङ सेवा दिए बापत २० प्रतिशत किलोवाट घण्टा थप गरि लिन पाउने व्यवस्था छ।

चार्जिङ स्टेसन सर्वसाधारणले पनि प्रयोग गर्न सक्नेछन्। त्यसका लागि नेसनल सर्भिस प्रोभाइडर प्रणालीको विकास गरिएको छ। जसमा उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन्। भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप प्रयोग गर्न सकिनेछ।

ऊर्जामन्त्री भुसालले देशको जलविद्युत उपयोग गरेर सवारीसाधन चार्ज गर्न पाउनु महत्वपुर्ण भएको बताइन्। 'पेट्रोलियम पदार्थ तीन खर्बको आयात हुने गरेको छ। संसारका धेरै देशसँग विकल्प छैन तर हामीसँग छ,' उनले भनिन्,' व्यापारघाटा कम गर्नका लागि ऊर्जाको भूमिका महत्वपूर्ण हुनेछ।'

उनले विद्युतीय सवारीसाधनमा काठमाडौंबाट सिन्धुलीसम्म जाँदा ३०० रुपैयाँको विद्युत खपत हुने तर डिजल गाडीमा जाँदा ४ हजार रुपैयाँ खर्च हुने बताइन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समयमा यस्ता चार्जिङ स्टेसन लगायत कुराहरु सोच्न नसक्ने अवस्था रहेको भन्दै लोडसेडिङ हटेपछि यो एउटा क्रान्ति नै भएको बताए। उनले प्राधिकरणले अरु ५० वटा स्टेसन बनाइरहेको जानकारी दिँदै निजी क्षेत्रले बनाउन चाहे सहजीकरण गरिदिने प्रतिबद्धता जनाए।

प्राधिकरणले देशका विभिन्न ३२ स्थानमा ५० वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणको काम धमाधम गरिरहेका छ। पाँच स्थानमा तयार भएको छ। बल्खु, साझा,खुर्कोट लगायतका स्थानमा तयार भएको छ।

उनका अनुसार दुई महिनामा सबै चार्जिङ स्टेसन तयार पार्ने लक्ष्य छ। चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीले ठेक्का पाएर काम गरिरहेको छ। एसियाली विकास बैंक (एडीबी) को ३७ करोड ७९ लाख रुपैयाँ लगानीमा चार्ज चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell