PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पाकिस्तानमा बाढीको कहर : देशको ३३ प्रतिशत भूभाग डुबानमा हुँदा सरकार कुर्दै विस्थापित



पहिलोपोस्ट

पाकिस्तानमा बाढीको कहर : देशको ३३ प्रतिशत भूभाग डुबानमा हुँदा सरकार कुर्दै विस्थापित
Photo: EPA-EFE/REX/SHUTTERSTOCK

पाकिस्तानमा दशकयताकै सबैभन्दा ठूलो बाढीका कारण देशको करिब ३३ प्रतिशत भूभाग डुबानमा परेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन्। अचानकको विनाशकारी बाढीले सडक, घर तथा बालीनाली बगाएको छ। जसकारण पाकिस्तानमा भयाभहको अवस्था सिर्जना भएको बीबीसीले उल्लेख गरेको छ।

‘यो महासागर जस्तो बनेको छ, पानी बाहिर फाल्न कुनै सुख्खा जमिन छैन’, अकल्पनीय अनुपातको संकटको संज्ञा दिँदै जलवायुमन्त्री शेरी रहमानले भनिन्।

जुनदेखि मनसुन सुरु भएयता कम्तिमा १ हजार १३६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। यो ग्रीष्मकालीन वर्षा एक दशकयताकै सबैभन्दा ठूलो भएको बताइएको छ। जसको दोष पाकिस्तानी सरकारले जलवायु परिवर्तनलाई दिएको छ।

‘वास्तवमै, पाकिस्तानको एक तिहाइ भूमि अहिले डुबानमा छ, जसले हामीले विगतमा देखेका हरेक सीमा, हरेक मापदण्ड नाघेको छ,’ मन्त्री रहमानले एएफपीलाई बताइन्, ‘हामीले यस्तो विपत्ति कहिल्यै देखेका थिएनौँ।’

बाढीका कारण मुत्यु भएकाहरुमध्ये ७५ जनाको विगत २४ घण्टामा मुत्यु भएको त्यहाँका अधिकारीहरुले बताए। सो संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

मुत्यु भएकाहरुमध्ये एक तिहाइ बालबालिका रहेको पाकिस्तानका विदेशमन्त्री बिलावाल भुट्टो-जर्दारीले बताए।

३ करोड ३० लाख बढी पाकिस्तानीहरु बाढीका कारण प्रभावित भएको अधिकारीहरुको अनुमान छ। अर्थात पाकिस्तानमा हाल हरेक ७ जनामा एक जना बाढीबाट प्रभावित भएका छन्।

देशको उत्तरी स्वाट उपत्यकामा भारी वर्षाका कारण पुल र सडकहरू बगाउँदा सम्पूर्ण गाउँनै सम्पर्क विच्छेद भएको छ। पहाडी क्षेत्रमा बसोबास गर्ने हजारौँ मानिसहरूको उद्धार गर्न आदेश दिइएको छ। तर, हेलिकप्टरको सहयोगका बावजुद पनि अधिकारीहरूले फसेका मानिसहरुलाई उद्धार गर्न संघर्ष गर्नु परिरहेको छ।

सिन्ध र बलुचिस्तान जस्ता प्रान्तहरू सबैभन्दा बढी प्रभावित छन् भने खैबर पख्तुनख्वाका पहाडी क्षेत्रहरू पनि नराम्ररी प्रभावित भएका छन्।

यस वर्षको बाढीलाई  सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ। पाकिस्तानको इतिहासमा सबैभन्दा विनाशकारी उक्त बाढीका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।

यस प्रकोपबाट पुगेको क्षतिको पुनर्निर्माणको लागि बढ्दो लागतको बारेमा पनि चिन्ता बढ्दै गएको छ। जसको लागि पाकिस्तान सरकारले सहायता एजेन्सीहरू, मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय दाताहरूसँग आर्थिक सहयोगको लागि अपील गरेको छ।

‘एक प्रारम्भिक अनुमानअनुसार यो लागत निकै ठूलो छ, १० बिलियन डलरभन्दा बढी छ,’ योजनामन्त्री अहसान इकबालले रोयटर्सलाई भने।

देशको करिब आधा कपास बाली बगाएको र तरकारी, फलफूल र धान खेतीमा पनि ठूलो क्षति पुगेको उनले बताए। तर, आगामी वर्षमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले करिब १.२ बिलियन डलर बराबरको ऋणको पुन: शुरुवात गरे त्यसले अर्थतन्त्रलाई पुनरुत्थान गर्न ठूलो सहयोग गर्ने प्रधानमन्त्री शेहबाज शरीफले बताएका छन्।

२०१९ मा पाकिस्तान आबद्ध भएको उक्त कार्यक्रम ऋणदाताले तोकेको लक्ष्यहरू पूरा गर्न असफल भएपछि यस वर्षको सुरुमा निलम्बन गरिएको थियो।

पाकिस्तानमा बाढीको कहर बढ्दै जाँदा पीडितहरु भने सरकारको आशमा छन्। बाढी गएर शहर नै जलमग्न हुँदा सरकारको कुनै प्रतिनिधि नआएको स्थानीयको आरोप छ। खाद्यान्नको अभाव र स्वास्थ्य समस्या बाढी प्रभावित क्षेत्रमा बढ्दो छ। उनीहरुले तत्काल सरकारसँग राहत र व्यवस्थापनको माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell