काठमाडौं: नेपाल र केन्याबिचको टी २० सिरिजको अन्तिम खेलमा केन्यामाथि सानदार जित निकाल्दै नेपालले पाँच खेलको टी २० सिरिज जितेको छ। केन्याको नैबेरीस्थित जिमखान क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ३१ रनले जित निकालेसँगै नेपालले सिरिज ३-२ ले जितेको हो।
आज सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले केन्याललाई १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। ज्ञानेन्द्र मल्लको अर्धशतकको सहायतामा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।
नेपालका लागि सानदार सुरुवात दिलाएका ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाउँदा अर्का ओपनर अर्जुन साउदले २९ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ रन बनाउँदा आक्रामक पारी खेलेका रोहितकुमार पौडेलले २५ बलमा ७ चौकाको सहायतामा ४७ रन बनाए।
बलिङतर्फ केन्याका नेहेमिह ओधिआम्बो, शेम एनगोचे र विरज पटेलले समान २ विकेट लिँदा लुकास ओलुओचले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो। केन्याका लागि नेहेमिह ओधिआम्बोले सर्वाधिक ३७ रन बनाउँदा कप्तान शेम एनगोचेले अविजित ३३ रन बनाए। त्यस्तै इर्फान करिमले २८ रन बनाउँदा कोलिन्स ओबुयाले २३ तथा नेल्सन ओधिआम्बोले १३ रन बनाए।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसीर अहमेदले समान २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, करण केसी र मोहम्मद आदिल आलमले समान १ विकेट लिए।
सिरिजको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेल घरेलु टोली केन्याले १८ रनले जित्दा तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो। तर, चौथो खेलमा केन्याले ७ रनको जित निकाल्दा सिरिजको च्याम्पियन अन्तिम खेलको विजेता बन्ने समीकरण बन्यो। आज सम्पन्न पाँचौं खेलमा नेपालले सानदार जित निकालेसँगै नेपालले सिरिज जितेको हो। नेपालले अब केन्यासँग तीन वटा एकदिवसीय सिरिज खेल्ने छ।