
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ का लागि तोकिएको छ। निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा तालमेल गरी जाँदैछ।
तर निर्वाचनमा जाँदा कसलाई कति सिट भन्नेबारेमा अझै टुंगो लाग्न सकेको छैन।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि गठबन्धनले टिकटको विषय मिलाउन साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले त्यसयता पटकपटक बैठक बसे पनि बाँडफाँटको टुंगो लगाउन सकेन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा रहेको कार्यदलले ठोस सुझाव पेश गर्न नसकेपछि हात उठाएको थियो।
तर शीर्ष नेताहरुले सिट बाँडफाँटबारे कार्यदलमा नै समझदारी गर्न निर्देशन दिएपछि कार्यदल पुन छलफलमा जुट्दैछ। बुधवार बालुवाटारमा कार्यदलको बैठक बस्ने र साझा धारणा बनाएर शीर्ष नेतालाई सुझाव दिने तयारी छ।
अहिलेसम्म कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न नसकेको हो। दलहरुले हदैसम्मको लचकता अपनाउनुपर्ने बताइएको छ।
कांग्रेसले बढी सिट माग्दा निर्वाचनपछि जसपा वा अन्य साना दलसँग मिलेर सरकार बनाउन नमिल्ने गरी सिट दाबी गर्ने तयारी माओवादीको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा लचकताका साथ सिट बाँडफाँट गर्ने तयारीमा रहे पनि संस्थापनइतरले १०० सिट बिना कांग्रेस तालमेलमा जान नहुने बताइहरेको छ। गठबन्धन गरेर निर्वाचनमा जाँदै गर्दा कांग्रेसमा नेता व्यवस्थापन गर्न मुश्किल सकस भइरहेको छ। जसका कारण पनि गठबन्धनमा टिकट बाँडफाँट धकेलिँदै गएको नेताहरु बताउँछन्।