PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

आईसीसी विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन, लाखे नाचसहित गराइयो नगर परिक्रमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आईसीसी विश्वकप ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिएको छ। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो।

आज भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ। सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल क्रिकेट संघले जनाएको छ।

आज भक्तपुरमा भएको ट्रफी प्रदर्शनीमा महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, क्रिकेटर शरद भेषवाकर, क्रिकेट म्‍यानेजर विनोद दास, अभिनेता सरोज खनाललगायतको उपस्थिति थियो। ट्रफी दरवार स्क्वायरबाट पाँचतले मन्दिर घुमाएर फेरि दरवार स्क्वायरमा प्रदर्शनी गरिएको थियो। ट्रफी भ्रमणमा नेपालका पूर्व खेलाडी महेबुब आलम सहभागी हुनेछन्।

क्रिकेट विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ। विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ। विश्वकपको १०० दिने ट्रफी भ्रमण अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो।

ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ। विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो। अस्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell