
काठमाडौं : निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एशोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन्। जबराको विरोध गर्दै बेञ्च बहिष्कार गरेका न्यायधीशमाथि प्रश्न उठाएका जबराले श्रेष्ठलाई पनि आरोप लगाएका हुन्।
महाभियोग सिफारिस समितिमा बुधवार जवाफ दिन उपस्थित भएका जबराले श्रेष्ठले न्यायाधीश बन्न 'बार्ग्रेनिङ' गरेको दाबी गरेका छन्। श्रेष्ठले उच्च अदालतको न्यायाधीशका लागि बार्गेनिङ गरेको जबराको आरोप छ। यस्तै, बारका तत्कालीन महासचिव लिलामणि पौडेलले पनि न्यायाधीश मागेको जबराको आरोप छ। उनले सर्वोच्च बारका हालका अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दासँग स्वार्थ रहेको बताएका छन्।
न्यायाधीश हरिकृष्ण कार्कीका बारेमा पनि जबराले प्रश्न उठाएका छन्। कार्कीले केपी शर्मा ओली प्रधानमन्त्री हुँँदा महान्यायधिवक्त भएको भनेर आफै भन्दै हिँडेको जबराको दाबी छ।
'उहाँले ओलीको महान्यायधिवक्त हु भन्नुहुन्छ। उहाँलाई मन परेका मुद्दा हुेर्नुहुन्छ। प्रतिनिधिसभा विघटन सम्बन्धिको मुद्दामा दुईजना न्यायाधीशलाई बेञ्च छाड्न बाध्य बनाइयो,' जबराले समितिमा भने।
समिति सदस्यले जबराको जवाफबाटै उनी अयोग्य पुष्टि भएको बताएपछि जबराले आफूमात्रै दण्डित नहुने जिकिर गरे।
'प्रधानन्यायाधीश मात्र दण्डित हुन्छ? यदी फैसला गलत हो भने कति जना गलत हुन्छ?' जबराले प्रश्न गरे।
समितिका सदस्यहरुले जबराले गरेका फैसला विवादित भएको भन्दै संसदले 'चेक एण्ड ब्यालेन्स' गर्नु दायित्व भएको बताएका छन्।
त्यसपछि जबराले आफू प्रश्नभन्दा बाहिर नबहकिएको भन्दै भने,'म प्रश्न भन्दा बाहिर रहिन। मलाई प्रश्न गर्न पाइदैन भनेको छैन। मैले कसैको दबाब मान्दिन भनेको हो। जनताको सर्वोच्च संस्था फेस गर्छु भनेको हो। त्यसैले अहिले आएको हो।'
संसदले समयमै महाभियोग किनारा नलगाएको भन्दै जबराले समितिको बैठकमा आक्रोश पोखे। उनले दोस्रोपटकको प्रतिनिधिसभा विघटन अघि आफ्नो गल्ती के हो? भन्दै प्रश्न समेत गरे।
'असार २८ को फैसला अघि मैले के गरें? र म माथि महाअभियोगको प्रस्ताव आयो,'जबराको प्रतिप्रश्न थियो।
जबराले आफूमाथि लागेको अभियोगका विषयमा कुनैदिन सार्वजनिक रुपमा बोल्ने पनि बताएका छन्। उनले कानुन र संविधानभन्दा बाहिर गएर आफूले काम नगरेको दाबी गरे। उनले नियमावली नमिलेको र गम्भीर विषयमा नियमावली नै पालना नभएको भन्दै प्रतिप्रश्न गरेका छन्। 'नियमवाली अनुसार यो प्रस्ताव अघि बढेन। यति गम्भीर विषयमा किन संविधान नियमावली पालना भएन?' जबराले प्रश्न गरे।
उनले महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन्। जनता/संसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको जबराले बताएका छन्।
जबराले आफ्ना बारेमा प्रश्न उठाएका न्यायाधीशको पनि आलोचना गरेका छन्। उनले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि मात्रै गुटबन्दी भएको आरोप समेत लगाएका छन्।
भने,'मलाई अरु न्यायाधीशले प्रश्न गर्नुभएको छ, म भन्दा पछिको मान्छेलाई प्रधानन्यायाधीश हुने इच्छा होला नी। दीपक कार्कीजीलाई पनि त्यो इच्छा होला नि। उहाँलाई प्रधानन्यायधीश बनाउन गरिएको हो यो सब गुटबन्दी पनि।'