PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको बयान ‘हेर्दाहेर्दै’, भोलि पनि बयान हुने



पहिलोपोस्ट

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको बयान ‘हेर्दाहेर्दै’, भोलि पनि बयान हुने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालले महाअभियोगमा आज लिएको बयान ‘हेर्दाहेर्दै’मा राखिएको छ। आज मध्यान्हदेखि सुरु भएको बयान नसकिएपछि भोलिलाई पनि राखिएको हो। भोलि बिहान ११ बजे बयानको लागि बोलाइएको समितिका एक सदस्यले जानकारी दिए।

फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान दिन बोलाएको हो।

उनीमाथि विभिन्न २१ वटा आरोप लगाएर महाअभियोग दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए। समितले आज बिहान ११ बजे बयानको लागि बोलाएको थियो।

बुधवार महाअभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको अभियोगको जवाफ दिँदै उनले आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा नै प्रश्न उठाएका हुन्।

‘ममाथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौँला बोलौँला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाअभियोगको प्रक्रिया मिलेको छैन,’ जबराले भने।

उनले नियमावली नमिलेको र गम्भीर विषयमा नियमावली नै पालना नभएको भन्दै प्रतिप्रश्न गरेका छन्।

‘नियमवाली अनुसार यो प्रस्ताव अघि बढेन। यति गम्भीर विषयमा किन संविधान नियमावली पालना भएन?,’ जबराले बैठकमा भने।

उनले महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन्। जनता र संसद्को सम्मानका लागि मात्रै जवाफ दिन आएको जबराले बताए।

‘म जनता र संसद्को सम्मानका लागि मात्रै आएको हो,’ उनले भने।

जबराले आफ्ना बारेमा प्रश्न उठाएका न्यायाधीशको पनि आलोचना गरेका छन्। उनले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि मात्रै गुटबन्दी भएको आरोप समेत लगाएका छन्।

उनले भने, ‘मलाई अरु न्यायाधीशले प्रश्न गर्नुभएको छ म भन्दा पछिको मान्छेलाई प्रधानन्यायाधीश हुने इच्छा होला नि। दीपक कार्कीजीलाई पनि त्यो इच्छा होला नि। उहाँलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो यो सब गुटबन्दी पनि।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell