काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ आगामी शुक्रवारदेखि प्रदर्शन हुँदैछ। भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित यो फिल्म दाउपेजको कथा भएको अभिनेत्री केकी अधिकारीको भनाइ छ।
पहिलेको कथा भएपनि वर्तमान समयमा निकै सान्दर्भिक भएको उनले बताइन्।
‘२०२५ सालतिर भीमनिधिजीले समसामयिक घटनालाई कथामा उतार्नुभएको थियो। यो पुरानो कथा अहिले पनि समसामयिक हुन्छ। आजको दिनसम्ममा पनि घरमा सम्पतिको निहुँमा दाजुभाईबिच झगडा भइरहेको हुन्छ। पहिलेको जस्तो लडाइँ हुँदैन होला, संस्कार परिवर्तन भयो होला तर घरमा झगडा भने भइरहेको हुन्छ। जुन सयौँ वर्षसम्म चलिरहन्छ। झिँगेदाउ एक दाउपेचको कथा हो,’ उनले भनिन्।
पछिल्लो समय दर्शकहरूबाट नेपाली फिल्महरूले मनोरञ्जन दिन नसकेको गुनासो आउँछ। तर, झिँगेदाउबाट दर्शकहरुले मनोञ्जन पाउने केकीको दाबी छ।
उनले भनिन्, ‘यतिखेर नेपाली फिल्ममा मनोरञ्जन नभएको कुराहरू आइरहेको छ। तर, यस फिल्मले मनोरञ्जन दिनेछ। यस पारिवारिक कथालाई फिल्मी तरिकाले नै प्रस्तुत गरिएको छ। यो कुनै यथार्थपरक डकुमेन्ट्री नभई ड्रामा र मसला भरिएको फिल्म हो। यस फिल्मले दर्शकलाई दिक्क बनाउने छैन।’
यस फिल्ममा केकीका साथै आँचल शर्मा, मुकुन भुसाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ। फिल्ममा केकी र आँचल देउरानी-जेठानीको भुमिकामा छिन्।
आँचलले पनि फिल्म ‘झिँगे दाउ’ पारिवारिक र राम्रो फिल्म बनेको दाबी गरिन्। फिल्ममा आफूले झगडालु बुहारीको भूमिका निर्वाह गरेको बताउँदै उनले फिल्मले सबै सासु र बुहारीलाई पाठ सिकाउने सुनाइन्।