PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

दुनियाँलाई नै आश्चर्य चकित बनाएर निर्वाचन जित्ने ओलीको दाबी, ‘डडेलधुराका लागि देउवाले के गरे?’



पहिलोपोस्ट

दुनियाँलाई नै आश्चर्य चकित बनाएर निर्वाचन जित्ने ओलीको दाबी, ‘डडेलधुराका लागि देउवाले के गरे?’
फोटो : राजन काफ्ले।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्। कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

प्रत्यक्ष र समानुपातिक गरेर १५० सिट जित्दै दुनियाँलाई आश्चर्य चकित पार्ने उनको दाबी थियो।

उनले भने, ‘नेपाली जनताको ताकत देखाउनु पर्नेछ यसपाली। अरुको भरमा होइन, अरुका बलमा होइन, अरुका बैसाखी टेकेर होइन, अरुका पैसा बोकेर ल्याएर अरुका पैसा छरेर होइन। आफ्ना इमानका साथ जनताले भोट खसाएर जनताले विजय हासिल गर्न सक्छ।’

एमालेले गरेको विकास हरेक जिल्लामा जाँदा थाहा पाइने उनको भनाइ थियो। प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गृहजिल्लाको केही नगरेको ओलीको टिप्पणी थियो।

‘शेरबहादुर देउवाले ४८ साल देखि सांसद भएर, प्रधानमन्त्री भएर के चाहीँ काम गर्नुभो? डडेलधुराका लागि के गर्नु भो? देशका लागि के गर्नु भो?’ ओलीको प्रश्न थियो।

अध्यक्ष ओलीले स्थानीय तहमा पार्टीहरुले तालमेल गरे भने त्यसलाई पनि आफूहरुले मान्नुपर्ने बताए। उनले देशका लागि केही गर्ने संकल्पका साथ आफूहरु अघि बढ्ने बताए।

उनले १६० वर्षदेखि नेपालको जमिन छिमेकीको कब्जामा रहेको समेत बताए। आफूहरुले लिम्पियाधुरा र लिपुलेकलाई फिर्ता ल्याउने कोशिस गरेपनि गठबन्धन सरकारले केही नबोलेको आरोप लगाए।

‘आफ्नो सरकार बन्नासाथ गठबन्धनले यसलाई समस्या हो भन्यो, हामी जमिन फिर्ता ल्याउँछौँ भन्न त कता हो कता समस्या हो भन्यो। प्रधानमन्त्रीले चु बोल्न सक्नुभएन,’ ओलीको टिप्पणी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell