काठमाडौं : स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जनालाई जेल चलान गरिएको छ। प्रहरीले गत साउन १८ गते काठमाडौं महानगरपालिका-६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरिएको हो। पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, ४९ लाख ५० हजार रुपैयाँ, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो।
महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरो भोटाहिटीको टोलीले सामाजिक सञ्जाल भाइबर, इन्स्टाग्राममार्फत साथी बनाई महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले सामाजिक सञ्जालमार्फत साथी बनाई विभिन्न लोभलालच देखाइ पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रशारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवैजनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच/पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।